राजनीति

एमाले कार्यदलको बैठक सिंहदरबारमा सुरु


काठमाडौँ – नेकपा एमालेमा विवाद समाधानका लागि गठित कार्यदलको बैठक सिंहदरबारमा सुरु भएको छ । कार्यदल बैठकले विवादका विषयमाथि छलफल सुरु गरेको हो ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा भएको छलफलमा पछिल्लो समय विवादित दुई मुख्य विषयमा केन्द्रित भएर छलफल भइरहेको एक नेताले जानकारी दिनुभयो । एमालेमा अध्यक्ष केपी शर्मा ओली पक्षले प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दिएको रिटबाट एमाले सांसदहरुले हस्ताक्षर फिर्ता लिनुपर्ने अडान राखेको छ ।

माधवकुमार नेपाल पक्षले भने एमालेको पार्टी कमिटी माओवादी केन्द्रसँग एकता हुनुअघिको अवस्था अर्थात् २ जेठ २०७५ मा फर्किनुपर्ने अडान राखेको छ ।

पार्टीभित्र विवाद बढेपछि निष्क्रिय बनेको कार्यदल फेरि सक्रिय हुँदै सोमबारदेखि छलफल सुरु भएको हो । सोमबार विगतको समीक्षा गरेर सकिएको छलफलमा आजदेखि विषयमा केन्द्रित भई छलफल भएको एक नेताले जानकारी दिनुभयो । ओली पक्षका संयोजक सुवास नेम्वाङले आजको बेठकले पार्टी एकताका लागि महत्वपूर्ण सन्देश दिने बताएका छन् ।