राजनीति

आज एमालेको कार्यदलको बैठक बस्दै, होला त सहमाति ?



काठमाडौँ – नेकपा एमालेको आन्तरिक विवाद समाधानका लागि बनेको कार्यदल ब्युँतिएसँगै आज दोस्रो बैठक बस्दैछ ।

अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपालको संयुक्त कार्यदलको बैठक आज दिउँसो १ बजे बस्दैछ । यसअघि हिजो कार्यदल ब्युँताउने सहमति भएसँगै साँझ बैठक बसेको हो । उक्त बैठक सकारात्मक भएपछि आजको लागि अर्को बैठक तय गरिएको हो ।

हिजोको बैठकले विवाद भएका बिषयहरुमा बुदाँगत रुपमा छलफल गर्ने सहमति भएको थियो । बैठकमा पुराना कुरा नगरेको र छलफल नयाँ शिराबाट सुरु गरिएको थियो ।

प्रतिनिधि सभा विघटन र कार्यदलमा रहेका भीम रावललगायतले काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेपछि निष्कृय बनेको कार्यदल पुन व्युँतिएको हो ।यसअघि अध्यक्ष केपी शर्मा ओली समूहबाट ५ र वरिष्ठ नेता माधवकुमार नेपाल समूहबाट ५ गरी १० सदस्यीय कार्यदल बनाइएको थियो ।

कार्यदलमा ओली समूहबाट संसदीय दलका उपनेता सुवास नेम्वाङ, उपमहासचिव विष्णु पौडेल, स्थायी कमिटी सदस्यहरू प्रदीपकुमार ज्ञवाली, शङ्कर पोखरेल र विष्णु रिमाल छन भने माधव समूहबाट उपाध्यक्ष भीम रावल, उपमहासचिव घनश्याम भुसाल, सचिव गोकर्ण विष्ट, स्थायी कमिटी सदस्यहरू सुरेन्द्र पाण्डे र रघुजी पन्त छन् ।