कोरोना विशेष

चीनबाट आउने भयो ४० लाख डोज खोप, को–कस्ले लगाउन पाउछन् ? (भिडियोसहित)


काठमाडौँ – चीनबाट ४० लाख डोज खोप आउने पक्का भएपछि सबै नागरिकलाई खोप लगाउनुपर्ने चर्को दबाबमा रहेको सरकारलाई केही राहत मिलेको छ । अब खोप अभियान निरन्तर चल्ने सरकारको दाबी छ । यता विज्ञले पनि कोरोनाबाट बाच्नको लागि सवै नागरिकलाई खोपको सुनिश्चित गर्न सरकारलाई दवाव दिइरहेका छन् ।

लामो समयको प्रयासपछि सरकारले खोप ल्याउने भएको छ । असार २४ गते देखि सात दिनको फरकमा चीनबाट खोप ल्याउने सरकारको तयारी छ । नेपालले हालसम्म भारतबाट अनुदानमा ११ लाख, खरिद प्रक्रियाबाट १० लाख र विश्वव्यापी खोप वितरण अभियान कोभ्याक्समार्फत् ३ लाख ४८ हजार कोभिशील्ड खोप प्राप्त गरेको छ ।

भारतले आपूर्ति रोकेका कारण उक्त खोपको पहिलो मात्रा लगाएका लगभग १४ लाख नेपालीहरूले दोस्रो मात्रा कुरिरहेका छन् । अब चीनबाट खोप आउने भएपछि केहि आशा पलाएको छ । नेपाल सरकार र चीनको बेइजिङस्थित सोनोेफार्म कम्पनीबीच खोप खरिदको गोप्य सम्झौता भैसकेको छ  । यद्यपी कति पैसामा खोप खरिद गरिएको भन्ने सरकारले सार्वजनिक गरेको छैन  । तर, खोप आएपछि उमेर समूह तोकेर खोप दिइने स्वास्थ्य सेवा विभागका प्रमुख झलक गौतमले बताए ।

यस्तै आज बसेको राष्ट्रियसभा बैठकमा पनि संसद्हरुले खोप अभियान प्रक्रियाबारे सरकारको ध्यानआकर्षण गराएका छन् । खोपको प्राथमिकतामा जेष्ठ नागरिक र अपांङ्लाई राख्नुपर्ने उनीहरुको माग थियो । राष्ट्रियसभा सदस्य विमला राई पौडेलले खोपको पहिलो मात्र लगाएर दोस्रो जोड नपाएर वृद्ध नागरिकहरु छटपटाइरहेको भन्दै उनीहरुलाई तत्काल दोस्रो डोजको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराइन् । साथै पौडेलले वृद्धहरुलाई खोपको लागि लाइनमा राखेर दुख दिने काम नगर्न पनि सरकारको ध्यानाकर्षण गराइन् ।

हालसम्म नेपालमा ३ प्रतिशत नगरिकले मात्र कोरोना खोपको दुई मात्राको खोप लगाएका छन् । तर चीनबाट खोप आउन सुरुभएसँगै खोप अभियान द्रुत गतिमा अघि बढाइने सरकारले बताएको छ । कोरोनाका बढि संक्रामक र घातक नयाँ नयाँ भेरियन्ट देखिरहेका अहिलेको अवस्थामा चीनबाट खोप आउने भएपछि नागरिकमा खोप पाउने आशा पलाएको छ ।