राजनीति

कांग्रेसको महाधिवेशनको सरगर्मी गाउसम्मै : आफ्नो पक्षमा लविङ गराउन जिल्लाका नेताहरु काठमाडौँमा


काठमाडौँ – नेपाली कांग्रेसको महाधिवेशन मिति नजिकिएसँगै जिल्लामा समेत सरगर्मी बढ्न थालेको छ । फलत ः वडा एकाइ समितिको निर्वाचनलाई लक्षित गर्दै कांग्रेस जिल्लास्तरका नेता अहिले गाउँ केन्द्रित बनेका छन् ।

त्यस्तै केन्द्रीय सदस्यहरु आफू अनुकुलका नेतालाई सभापति बनाउने कसरतमा लागेका छन भने आफ्नो पक्षमा लविङ गराउन जिल्लाबाट नेताहरु केन्द्र आउने क्रम पनि बाक्लिन थालेको छ ।

नेपाली कांग्रेसको महाधिवेशनको मिति नजिकिएसंगै त्यसको तरङ जिल्ला–जिल्ला सम्म देखिन थालेको छ । चुनावी सरगर्मी बढेसँगै जिल्लाका नेताहरुले विभिन्न पदमा आफ्नो उम्मेदवारी दाबी गर्न सुरु गरेका भने केन्द्रीय सदस्यहरु आफ्ना अनुकुलका नेताहरुको पक्षमा लविङ गर्न व्यस्त देखिएका छन् ।

त्यस्तै जिल्ला नेतृत्व चयनका लागि समेत मतदाता (क्षेत्रीय प्रतिनिधि) चुनिने महत्वपूर्ण मानिएको वडा एकाइ समितिको निर्वाचनलाई लक्षित गर्दै कांग्रेस जिल्लास्तरका नेता अहिले गाउँमै केन्द्रित बनेका छन् । यससँगै कसरी फरक टिमबाट चुनिएका सक्रिय सदस्यहरूलाई आफ्नो गुटमा प्रवेश गराउने भन्ने रस्साकस्सी पनि जिल्लाका नेताहरुबीच देखिएको छ ।

वडा अधिवेशनबाटै चुनिने क्षेत्रीय प्रतिनिधि नै जिल्ला नेतृत्वका लागि हुने निर्वाचनका मतदाता हुन् । उनीहरू क्षेत्रीय समितिसँगै जिल्ला मतदाता हुन पाउँछन् । फलतः अहिले क्षेत्रीय तथा जिल्ला तहका नेताहरूले वडा तहका मतदाताहरूलाई निकै महत्व दिएर निगरानी गरिरहेका छन् ।

उनीहरूले धरैभन्दा धेरै आफ्नै गुटका कार्यकर्तालाई क्षेत्रीय प्रतिनिधिका रूपमा चयन गर्न खोजिरहेका छन् । तर केन्द्रीय सभापतिका आकंक्षीनै धेरै देखिएको अहिलेको अवस्थामा तल्लोतहसम्म गुटगत रुपमा अघि बढ्ने अवस्था नरहेको जिल्लाका नेताहरु बताउछन । अहिले वडा तथा पालिका समिति चयन गर्दैगर्दा आगामी स्थानीय तहको चुनावको उमेद्वारको सम्भावनाको कोणबाट पनि ध्यान दिन जरुरी रहेकोले त्यतातर्फ आफूहरु केन्द्रित रहेको उनीहरुको भनाई छ ।

संघ तथा प्रदेशको आगामी निर्वाचनमा समेत यसले प्रभाव पार्ने भएकोले गुट भन्दा पार्टीको हित हेरेर निर्णय लिनुपर्ने उनीहरुको तर्क छ ।

क्रियाशील सदस्यको विवाद समाधानतर्फ अघि बढेको कारण पनि महाधिवेशनको तातो तल्लोतहसम्म पुगेको छ । त्यसमाथि पनि क्रियाशील सदस्य ५ लाख बाट बढेर १० लाख पुगेकोले ठूलो संख्याको सहभागीता, कांग्रेसप्रतिको आम जनताको अपेक्षा तथा आकर्षणका कारण अन्य भन्दा यो महाधिवेशनको सरगर्मी जिल्ला, गाउँ र वडासम्मै छिट्टै पुगेको जिल्ला सभापतिहरुको बुझाइ छ ।

क्षेत्रीय प्रतिनिधि आफू गुटकालाई बढी ल्याउन सकिए क्षेत्रीय र जिल्ला समितिको नेतृत्वमा आफ्नो पकड जमाउने ध्याउन्नमा लागेका छन् । जिल्लाभित्र जोडघटाउ सुरु भइसके पनि पार्टीले अहिलेसम्म आधिकारिक उम्मेदवारको टुङ्गो भने लगाएको छैन् । तर स्थानीय तहमा सम्भावित उम्मेदवारको चर्चा र परिचर्चा भने सुरु भइसकेको छ । जसकारण आफ्नो पक्षमा लविङ गराउन जिल्ला सभापतिका सम्भावित उमेद्वारहरु काठमाडौँ आउ जाउको क्रम पनि बाक्लिएको छ ।

१४ औं महाधिवेशनको कार्य तालिकाअनुसार साउन १२ गते वडासमितिको अधिवेशन हुने छ । साउन १६ मा गाउँ र नगर अधिवेशन तथा २० गतेलाई प्रदेश निर्वाचन क्षेत्रको अधिवेशन तोकिएको छ । त्यस्तै साउन २३ गते एक निर्वाचन क्षेत्र भएका जिल्ला अधिवेशनको मिति तोकिँदा २६ गते एकभन्दा बढी निर्वाचन क्षेत्र हुने जिल्लाको अधिवेशन हुनेछ । त्यसैगरी भदौ १ र २ गते प्रदेश समितिको अधिवेशन र भदौको १६ देखि १८ गतेसम्म राष्ट्रिय महाधिवेशनको कार्य तालिका रहेको छ ।