कोरोना विशेष

सरकारले कोरोनाविरुद्धको खोपको अभाव हुन नदिने, कहाँबाट कति मात्रामा आउँदै छ ? (भिडियोमा)

हालसम्म ३ प्रतिशत पनि जनतालाई खोप लगाउन नसकेको सरकारप्रति जनताको भरोसा टुट्दै गएको थियो ।


काठमाडौँ – सबै नागरिकलाई खोप लगाउनुपर्ने चर्को दबाबमा रहेको सरकारले खोप खरिद प्रक्रियामा सक्रियता देखाएको छ । खोप खरिदमा चासो दिएन भनेर आलोचना खेपीरहेको सरकारले अब खोप अभियान निरन्तर चल्ने दाबी गरेको छ ।

निकै लामो समयपछि खोप खरिद प्रक्रियामा सरकार सक्रिय बनेको देखिएको छ । चिनियाँ कम्पनीसँग खरिद गरेको कोरोनाविरुद्धको भेरोसेल खोप आउँदो बिहीबारबाट ल्याइने सरकारको दावी छ । असार २५ देखि साउन ८ गतेसम्म नेपाल वायु सेवा निगमका तीन उडानमा ३० लाख मात्रा खोप ल्याउन जहाज चीन पठाउने निर्णय भएको छ । एक उडानमा १० लाख मात्रा खोप ल्याउने नोपल वायु सेवा निगमले जनाएको छ । विमान पठाउनेसम्मको तयारी भइसकेपछि अब बाव्तवमै खोप आउँछ की भन्ने आशा बढेर गएको हो । नेपाल सरकार र चीनको बेइजिङस्थित सिनोफार्म कम्पनीसँग खोप खरिदको गोप्य सम्झौता भएको थियो । यद्यपी कति पैसामा खोप खरिद गरिएको भन्ने सरकारले सार्वजनिक गरेको छैन । चार वर्षसम्म सम्झौता सार्वजनिक नगर्ने सर्तमा खोप खरिद गरेको स्वास्थ्य मन्त्रालय स्रोतले जनाएको छ ।


जेठ ३१ मा बसेको मन्त्रिपरिषद् बैठकले कोरोना खोप खरिद प्रक्रिया अघि बढाउन स्वास्थ्य मन्त्रालयलाई सहमति दिएको थियो । नेपालले खोप खरिदको प्रस्ताव गर्दा चिनियाँ कम्पनीले मूल्य र खरिद गरिएको खोपको संख्या लगायतका विषय सार्वजनिक नगर्ने गरी सम्झौता गर्नुपर्ने अडान राखेको थियो । यो सर्तकै कारण स्वास्थ्य सेवा विभाग र मन्त्रालयले खरिद प्रक्रिया अघि बढाउन सकेका थिएनन्  । अन्य मुलुकबाट खोप आउन नसक्ने भएपछि चिनियाँ कम्पनीको प्रस्तावअनुसार सरकार गोप्य सम्झौता गर्न सहमत भएको हो । चिनबाट खोप आउन सुरुभएसँगै खोपको अब कुनै अभाव नहुने सरकारले दाबी गरेको छ । पूर्व परराष्ट्रमन्त्री एवं सत्ताधारी एमालेका प्रवक्ता प्रदीप ज्ञवालीको दावी छ ।

विज्ञहरु पनि कोरोनाका नयाँ नयाँ भेरियन्टहरु देखा परिरहने हुनाले आत्तिनु भन्दा त्यसविरुद्धको तयारी थाल्नुपर्ने बताउँदै आइरहेका छन् । जुनसुकै भेरियन्ट आएपनि त्यसले रोग प्रतिरोधात्मक क्षमता कम भएकालाई बढि असर गर्ने भएकोले यथासक्य चाडो सबैलाई खोप लगाउनु नै कोरोनाबाट बच्ने एकमात्र उपाय भएको विज्ञहरुले दाबी गर्दै आएका छन् ।

कोरोनाका बढि संक्रामक र घातक नयाँ नयाँ भेरियन्ट देखिरहेका अहिलेको अवस्थामा सरकारको यस सक्रियतलाले नागरिकमा केही आशा भने जगाएको छ । हालसम्म ३ प्रतिशत पनि जनतालाई खोप लगाउन नसकेको सरकारप्रति जनताको भरोसा टुट्दै गएको थियो । तर अब भने बास्तवमै खोप आउने लक्षण देखिएपछि कोरोनाबाट बच्न सकिने नागरिकमा एक प्रकारको आशा जागेको छ ।