समाचार

बालिका अपहरण घटनाका आरोपीलाई कारागार चलान



काठमाडौँ – बालिकालाई अपहरण गरेको घटनाका आरोपीलाई अदालतले मंगलवार कारागार चलान गरेको छ । सप्तरी जिल्ला अदालतका न्यायाधीश ईश्वरमणि ओझाको इजलासले सप्तरीको राजविराज–२ घर भई सुनसरीको भण्टाबारीमा बस्ने ३५ वर्षीय नवीन देवलाई पुर्पक्षका लागि राजविराज कारागार चलान गरेको हो ।

अपहरणको खबरलगत्तै सक्रिय बनेको सप्तरी प्रहरीले १५ मिनेटमै आरोपीलाई पक्राउ गरी अपहरित बालिकाको सकुशल उद्धार गरेको थियो ।राजविराजबाट अपहरित १४ वर्षीया बालिकालाई रुपनी पुर्‍याउनुअगावै इलाका प्रहरी कार्यालय रुपनीले आरोपीलाई पक्राउ गरी बालिकालाई सकुशल उद्धार गरेको थियो ।

राजविराजस्थित घरबाट आरोपीले जेठ २० गते ललाइफकाई बुवाको साथी भनी झुक्याएर छलकपट गरी मोटरसाइकलमा लिएर गएको पीडितले बयान दिएकी छन् । राजविराजबाट ९ किलोमिटर उत्तर रुपनी नजिक पुगेपछि प्रहरीले आरोपीलाई पक्राउ गरेपछि मात्रै बालिकाले अपरहणमा परेको जानकारी पाएकी थिइन् ।