कोरोना विशेष

सञ्चालनमा आयो सार्वजनिक यातायात : यात्रु खचाखच, भौतिक दूरी त परैको कुरा


काठमाडौँ – कोरोना महामारीको जोखिमका बीच सार्वजनिक यातायात सञ्चालनमा आएका छन् । काठमाडौँ उपत्यकामा जोरबिजोरको आधारमा २५ सिटमाथिको सार्वजनिक यातायात र निजी साधन जोरबिजोर प्रणालीबाट सञ्चालनमा आएका हुन् । तर, कतिपय यातायातमा सर्वसाधारणको चाप छ भने कतिपय साधनमा यात्रुको अभाव देखिएको छ । एक रिपोर्ट

कोरोना भाइरस संक्रमण दर कम हुदै गएपनि जोखिम भने अहिले पनि उत्तिकै छ । संक्रमण फैलिन नदिन २ महिना निषेधाज्ञा गरेको सरकारले विस्तारै खुकुलो बनाउँदै लगेको छ । आजबाट सार्वजनिक यातायात पनि संञ्चालमा आएका छन् । २५ सिटभन्दा बढी क्षमताका सार्वजनिक यातायात मात्र चलाउन पाइने छ ।

सार्वजनिक सवारी साधन सञ्चालन गर्दा स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्दै र अनिवार्य रुपमा भौतिक दुरी कायम गर्दै सवारी साधन चलाउन दिइएको हो । तर, कतिपय सवारीमा भने यात्रुको चाप देखियो । सरकारले स्वास्थ्य सर्तकता अपनाएर सञ्चालन गर्न अनुमति दिएपनि त्यसलाई पालना गरिएको छैन । कतिपय सवारी साधनमा सामान्य अवस्थाझै यात्रुहरु खचाखच देखिएका छन् । आज पहिलो दिन सबै बस नचलेको कारण यात्रुको चाप बढि भएको बस चालकहरु बताउछन् ।

कतिपय सर्वसाधारण सबै बस सञ्चालमा ल्याउनुपर्ने बताउछन् । निषेधाज्ञा खुल्दै जादा जीवनयापनको लागि काममा जानै पर्ने भएपछि जति धेरै साधन सञ्चालनमा आउछन् यात्रुलाई उति सहज हुने सर्वसाधरणको भनाइ छ । सरकारको मापदण्डअनुसार सवारीसाधन चलाएको भए पनि कतिपय सर्वसाधारण भने ढुक्क हुन सकेका छैनन् ।

यातायात क्षेत्रमा लगाइएको मापदण्ड पूरा भए नभएको वा यात्रुले सुरक्षित तरिकाले यात्रा गर्न पाए/नपाएको विषय सरकारले अनुगमन अघि बढाउनुपर्छ । हेलचेक्र्याई बढ्दै गएमा संक्रमण उच्च भई पछुताउनुपर्ने स्थिति नआउला भन्न सकिँदैन । त्यसैले व्यक्ति व्यक्तिबीचको भौतिक दूरी कायम राखी स्वास्थ्यप्रति सचेत रहन जरुरी छ ।