राजनीति

प्रधानमन्त्रीको कटाक्ष : माधव नेपाल प्रचण्डका मामुली कार्यकर्ता मात्र

बुद्धिजीवीहरुलाई देश र जनताप्रति उत्तरदायी भएर आफ्ना अभिव्यक्ति दिन पनि ओलीले सुझाएका छन् ।



काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओली आफ्नै पार्टीका नेता न्यायाधीश, बुद्धिजीवी र राजनीतिक दलप्रति आक्रामक शैलिमा प्रकट भएका छन् । मदन भण्डारी फाउन्डेसनको आयोजनामा भएको कार्यक्रममा एमाले अध्यक्ष समेत रहेका ओली उनीहरुमाथि पालैपालो खनिएका हुन् ।

स्वर्गीय जननेता मदन भण्डारीको ७० औ जन्मजयन्तीको अवसरमा सोमबार काठमाण्डौमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओली आफ्नै पार्टीका नेता तथा विपक्षी दलहरुप्रति आक्रामक शैलिमा प्रकट भए । डेढ घण्टा सम्बोधन गरेका ओलीले शिर्षस्थ नेताको आलोचनामै खर्चिए । पार्टीका वरिष्ठ नेता माधव नेपालप्रति अमर्यादित रुपमा प्रस्तुत हुदै ओलीले नेपाललाई देउवाको मामुली कार्यकर्ता र प्रचण्डको पुच्छर भएको टिप्पणी गरे ।

नेता नेपालले आफुले प्रधानमन्त्रीको प्रस्ताव गरेको भनी जनता माझ झुटको राजनीति गरेको दाबी गरे । कहिले अध्यक्ष त कहिले प्रधानमन्त्रीको प्रस्ताव आएको छ भनी आफै आफ्नो महत्व बढाएर नेता नेपालले झुटको राजनीति गरेको प्रधानमन्त्री ओलीको दाबी थियो । उनले पछिल्लो समय नेपाली राजनीतिमा नेता नेपालको चर्चा नाथुराम गोड्सेको रुपमा हुने गरेको टिप्पणी गरे । ओलीले राजनीतिक दलका नेताहरुले आफ्ना कार्यकर्ताहरुलाई विचार बोक्न भई स्वार्थ बोक्न लगाउने गरेको आरोप लगाए । यस्तै ओलीले कांग्रेस प्रचण्डपथमा हिडेपछि प्रचण्डपथको छाँया न्यायलयमा पनि परेको दाबी गरे ।

प्रधानमन्त्री ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सिद्धान्तको राजनीति भन्दा अवसरवादी स्वार्थको राजनीतिमा लागेको टिप्पणी गरे । ओलीले राष्ट्रिय जनमोर्चाको भूमिकामाथि पनि तिखो टिप्पणी गरेका छन् । राष्ट्रिय जनमोर्चाले राजनीति र सिद्धान्तलाई नभई स्वार्थ नीतिलाई केन्द्रभागमा राखेर काम गरेको दाबी प्रधानमन्त्री ओलीले गरे । बौद्धिक जगतलाई क्षणिक आवेश र उत्तेजनामा नआउन उनको आग्रह छ । बुद्धिजीवीहरुलाई देश र जनताप्रति उत्तरदायी भएर आफ्ना अभिव्यक्ति दिन पनि ओलीले सुझाएका छन् । विचारलाई व्यवहारमा कार्यान्वयन गर्ने संगठित प्रयास स्वर्गीय मदन भण्डारीले गरेको भन्दै प्रधानमन्त्री ओलीले भण्डारीको राजनीतिक सोच, विचार, व्यवहार तथा समग्र योगदानको चर्चा गरे ।

राजनीतिक दल, नेता तथा कार्यकर्ताले देश र जनताको हित हुने गरि सत्य र निष्ठाको राजनीतिक मार्ग अपनाउनुपर्नेमा ओलीको जोड रहेको छ । बढ्दो राजनीतिक ध्रुविकरण र सत्ताको अस्थीरताले बेलगाम बनेको अवस्थामा प्रधानमन्त्री ओलीको खरो प्रकृतीको टिप्पणी आएको हो ।