समाचार

कोरोनाको तेस्रो लहरमा बालबालिका बढी जोखिममा


काठमाडौँ – कोरोना भाइरस महामारीको दोस्रो लहरमा धेरै बालबालिकाहरु संक्रमित बनिरहेका छन् । पहिलो लहर भन्दा दोस्रो लहर संक्रामक देखिएको अवस्थामा अर्को नयाँ लहर आएमा बालबालिकाहरुका लागि निकै खतरनाक हुने बताइएको छ । तर, विज्ञहरु भने तेस्रो लहर बालबालिकालाई मात्र नभई सबै समूहलाई जोखिम हुने बताउँछन् ।

कोरोना संक्रमितको संख्या घट्दै गएका कारण सरकारले निषेधाज्ञालाई थप खुकुलो बनाउँदै लैजाने तयारी गरिरहेको छ । दोस्रो लहर कम हुँदै गएपनि तेस्रो लहरको उत्तिकै चिन्ता छ । कोरोनाका नयाँ नयाँ भेरियन्ट आइरहका छन् । पहिलो लहरहरुमा कोरोना संक्रमणले विशेषगरी वृद्धवृद्धाहरु र दीर्घ रोगीहरुलाई बढी असर गरेको थियो । दोस्रो लहरको संक्रमण ज्येष्ठ नागरिकमा भन्दा युवाहरुमा बढी देखियो । अब आउने तेस्रो लहरमा भने बालबालीका बृद्ध, युवा सबैलाई संक्रमण हुने सक्ने विज्ञहरु बताउछन् ।

तेस्रो लहरबाट जोगिन खोप नै आवश्यक पर्छ । तर,खोप उपलब्ध नभइरहेका कारण त्रास झन् बढ्दो छ । त्यसमा पनि बालबालिकालाई खोप नलगाइएका कारण थप जोखिमा पर्ने देखिन्छ । सरकारको तयारी हेर्दा तत्काल बालबालिकाले खोप पाउने स्थिति देखिदैन् ।

नेपालमा जुनसुकै उमेरका व्यक्तिलाई पनि खोप लगाउन बिदेशी मुलुककै भर पर्नुपर्ने अवस्था छ । त्यसैले गर्दा पनि नेपालमा बालबालिकाका लागि छिट्टै खोप प्राप्त हुने सम्भावना छैन् । राज्यले कुन देशबाट हुन्छ सहकार्य गरेर जनताको जीवन रक्षाका लागि खोपको उपलब्ध गराउनु आवश्यक छ ।