विदेश

सहयोगीलाई चुम्बन गरेका बेलायती स्वास्थ्य मन्त्रीले दिए राजीनामा


काठमाडौँ – बेलायती स्वास्थ्य मन्त्री म्याट ह्यानककले राजीनामा दिएका छन् । कोरोनाभाइरस नियन्त्रणका लागि बनाइएका स्वास्थ्य मापदण्ड तोड्दै एक जना सहयोगीलाई अँगालो हालेर चुम्बन गरेपछि उनको तीव्र आलोचना भएको थियो ।

केही समयअघि मन्त्री ह्यानककले नियुक्त गरेकी एक जना महिला सहयोगीलाई उनले अँगालो हालेको र चुम्बन गरेको तस्बिर द सन पत्रिकाले शुक्रबार छापेको थियो । अरूलाई लकडाउनमा राखेर मन्त्री आफैंले मापदण्ड उल्लंघन गरेको भन्दै उनको तीव्र आलोचना भएको थियो ।

‘यी नियमहरू जसले बनाए उनीहरूले तिनको कडाइका साथ पालना गर्नुपर्छ, त्यसैले म राजीनामा दिन्छु,’ ४२ वर्षीय ह्यानककले ट्विटरमा पोष्ट गरेको भिडिओमा भनेका छन् ।

ह्यानकक बेलायतमा कोरोनाविरूद्धको लडाइँमा अग्रभागमा थिए । उनी टेलिभिजनमा ब्रिफिङ दिन्थे र मानिसहरूलाई मापदण्ड पालना गर्न आग्रह गर्थे।

ह्यानककको ठाउँमा अब साजिद जावेद नयाँ स्वास्थ्य मन्त्री हुने भएका छन् । उनी पूर्वअर्थमन्त्री हुन् ।

बेलायत संसारमा सबैभन्दा धेरै कोरोना संक्रमित भएका मुलुकमध्ये पर्छ । त्यहाँ अहिलेसम्म ४७ लाख १७ हजार मानिसमा संक्रमण भएको छ भने १ लाख २८ हजार जनाले ज्यान गुमाएका छन् ।