राजनीति

राष्ट्रपति र प्रधानमन्त्रीविरुद्ध विपक्षी गठबन्धन थप आक्रमक


काठमाडौँ – विपक्षी गठबन्धनका शीर्ष नेताहरुले राष्ट्रपतिको भूमिका निष्पक्ष हुन नसकेको आरोप लगाएका छन् । संघीय संसद भवन बानेश्वरमा विपक्षी गठबन्धनले आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै नेताहरुले प्रधानमन्त्रीको दाबीमा शंका लाग्दा सनाखत गर्न सक्ने अधिकार भए पनि त्यसो नगरेको भन्दै राष्ट्रपति विद्या भण्डारीप्रति असन्तुष्टि व्यक्त गरे ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रपति विद्यादेवी भण्डारी प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यकर्ताजस्तो बनेको टिप्पणी गर्नुभयो । देउवाले आफूलाई १४९ सांसदले प्रधानमन्त्रीमा समर्थन गर्दै हस्ताक्षर गरे पनि राष्ट्रपतिले रातारात संसद विघटन गरेको भन्दै आपत्ति जनाउनुभयो । देउवाले सर्वोच्च अदालतबाट प्रतिनिधिसभा पुर्नस्थापना हुने र आफूलाई प्रधानमन्त्री बनाउन आदेश जारी हुने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ठूलो संघर्ष र बलिदानबाट बनेको संविधानको रक्षा गर्न आफूहरुको गठबन्धन अघि बढेको बताउनुभयो । त्यसैगरी नेकपा एमालेका नेता माधवकुमार नेपालले विपक्षी गठबन्धनलाई धोका नदिने बताउनुभयो । अन्तर्क्रिया कार्यक्रममा नेता नेपालले गठबन्धन छोडेमा प्रधानमन्त्री बनाउने अफर आएपनि गठबन्धनलाई धोका दिने पक्षमा नरहेको बताउनुभयोे । देउवाको समर्थनमा सर्वोच्चमा पेश भएको हस्ताक्षर कुनै पनि हालतमा फिर्ता नहुने र यसमा कुनै शंका नपाल्न गठबन्धनका नेताहरुलाई नेता नेपालले आग्रह गर्नुभएको थियो ।