राजनीति

संसद् पुनस्थापना हुन्छ र देउवा प्रधानमन्त्री बन्छ : उपेन्द्र यादव


काठमाडौँ – जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव प्रतिनिधिसभा पुनस्थापना हुनेमा विश्वस्त देखिएका छन् । उनले संसद् पुनस्थापना हुने र शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने बताएका छन् ।

सप्तरीमा शनिबार पत्रकारसँग कुरा गर्दै नेता यादवले सर्वोच्च अदालतले देउवालाई प्रधानमन्त्रीको रुपमा शपथ ग्रहण गराउन परमादेश जारी गर्ने बताएका हुन् । ‘संसदको पनि पुर्नस्थापना हुन्छ । लोकतन्त्रको पनि रक्षा हुन्छ । हामी यसमा ढुक्क छौं’ उनले भने ।

सरकारले कुनै माग पूरा नगर्दा पनि जसपाका कतिपय नेताहरु सरकारमा गएको अध्यक्ष यादवले टिप्पणी गरेका छन् । ‘कसैको मुद्दा फिर्ता भएको छैन, कुनै माग पूरा भएको छैन’ अध्यक्ष यादवले भने, ‘केपी ओलीले त मधेशको माग सुन्नै चाहेका छैनन् । माग कसरी पूरा गर्छन् ?’

मधेशको माग जनसंख्याको आधारमा समावेशी समानुपातिक प्रतिनिधित्व, भाषाको अधिकार, ७ प्रदेशको सट्टा गरी १० जोड १ प्रदेशको अवधारणा ल्याउने भएपनि कुनै माग पूरा नभएको उनको भनाई छ ।

नागरिकताको विषयमा प्रधानमन्त्री ओलीले ठूलो खेल खलेको यादवले आरोप लगाए । संसद्मा टेबुल भइसकेको नागरिकता विधेयकलाई संसद्भित्रै पारित नगराई अध्यादेशबाट ल्याइएको भन्दै उनले भने, ‘एकातिर अध्यादेश जारी गरे, अर्कोतर्फ आफ्नै मान्छे लगाएर खारेज गर्न लगाए ।’

जसपाभित्रको पूर्व राजपाका नेताहरु प्रतिगमनकारीलाई सघाएको अध्यक्ष यादवले बताए । ओलीको सरकारमा सहभागी भएकाहरु पार्टीमा पुनः आउन सक्ने उनले बताए ।