कोरोना विशेष

कोरोना जितेकालाई देखिन थाल्यो स्वास्थ्यमा समस्या

कतिपय व्यक्तिहरु कोभिडलाई जिते पनि पोष्ट कोभिडको कारण ज्यान गुमाउन बाध्य भैरहेका छन् ।


काठमाडौँ – कोरोना महामारीको दोस्रो लहरका क्रममा संक्रमण मुक्त भएका व्यक्तिहरूमा विभिन्न स्वास्थ्य समस्या देखिन थालेको छ । संक्रमण निको भएर पनि लामो समयसम्म स्वास्थ्यमा देखिने समस्या पोष्ट काभिड भएको चिकित्सक बताउछन् । पोष्ट कोभिडले शारीरिक मात्र होइन मानसिक रुपमा पनि उत्तिकै प्रभाव पारेको देखिन्छ ।

संक्रमण निको भएको अधिकांश व्यक्तिलाई ”पोस्ट कोभिड” देखिन थालेको छ । पोस्ट कोभिडको समस्या दोस्रो लहरमा मात्र नभई पहिलो लहरमा पनि देखिएको थियो । तर दोस्रो लहरमा यो समस्या टड्कारो बन्दैे चिकित्सकहरु बताउँछन् । सबैभन्दा बढी पोष्ट कोभिडमा देखिने स्वास्थ्य समस्यामा जाँगर नचल्ने, स्याँस्याँ हुने, खोकी लागिरहने, मुटुको धड्कन बढिराख्ने, स्वास्प्रश्वासमा समस्या हुने, सुत्न नसक्ने, बिर्सिने, डराउने, जिउ तातो हुनेजस्तो हुने लक्षणहरु देखा परिरहेका छन् । शुक्रराज अस्पताल सरुवा रोग विषेशज्ञ डा. शेरबहादुर पुनले दैनिक संक्रमण निको भएर पनि कतिपय विरामीहरु कोभिडका लक्षण लिएर अस्पताल आउने गरेको बताउछन् । उपचारबाट निको भइसकेका संक्रमितलाई पुनः शारीरिक तथा मानसिक समस्या थपिन सक्ने उनको भनाइ छ ।

कोरोना भाइरसको दोस्रो लहरको उच्च बिन्दुमा पुगेर बिस्तारै सक्र्रमण कम हुन सुरु भएको बेला कोभिडपछिको समस्या देखिएको चिकित्सक बताउँछन् । आईसीयू तथा भेन्टिलेटरमा बसेर निको भइसकेका बिरामीहरु छाती तथा फोक्सोको समस्या लिएर आइरहेको उनीहरु बताउछन् ।

दोस्रो लहरको संक्रमण बढी संक्रामक रहेका कारण पनि कोरोना जितेका बिरामीहरुमा मनोवैज्ञानिक असर बाँकी रहने गरेको पाइएको छ । दैनिक जस्तो स्वास्थ्य सम्बन्धी समस्या थपिँदै गएमा चिकित्सकलाई सम्पर्क गरेर परामर्श लिनु पर्दछ । चिकित्सकको सल्लाहबमोजिम औषधि खाने, अक्सिजन लेभल बढाउने गर्नु पर्दछ । कतिपय व्यक्तिहरु कोभिडलाई जिते पनि पोष्ट कोभिडको कारण ज्यान गुमाउन बाध्य भैरहेका छन् । त्यसैले कोरोना जितेपछि पनि निरन्तर स्वास्थ्य समस्या देखिएमा अस्पताल जानुपर्ने चिकित्सकहरु बताउछन् ।