राजनीति

व्यास गाँउपालिकाले भारतले अतिक्रमण गरेको नक्सासहितको लोगो बनाउने



काठमाडौँ – नेपालको सुदूरपश्चिमी जिल्ला दार्चुलामा पर्ने व्यास गाँउपालिकाले भारतले अतिक्रमण गरेको क्षेत्र समेटिएको नक्सासहितको लोगो बनाउने भएको छ । नेपालको भूमिलाई आफ्नो भन्दै आईरहेका गुञ्जी, कुटी नाभी समेटिएको नक्सा भएको लोगो जनप्रतिनिधिका निर्माण गर्न लागेको हो।

गाउँपालिकाले कोरोना महामारीका कारण रोजगारी गुमाएर देश-विदेशबाट फर्किएका युवाहरूको सीप, क्षमता, योग्यता, अनुसार रोजगारीको अवसर सिर्जना गर्न मेरो पूर्वाधार विकासका लागि मेरो श्रम भन्ने कार्यक्रम सञ्चालन गर्न लागेको छ । यसका लागि गाउँपालिकामा जडिबुटी प्रशोधन केन्द्र स्थापना गर्न पहल गर्ने योजना बनाएको छ।

कृषि पेसामा युवाहरूलाई आकर्षित गर्न कृषि व्यवसाय गर्न चाहने युवाका लागि सहुलियत ऋणको व्यवस्था पनि बजेटमा गरिएको छ। यस्तै ब्याँसको कृषि उत्पादनलाई राष्ट्रिय रूपमा पहिचान गराउन सुन्तला, ओखर, कोदो, जौ, राज्माको ब्रान्डसहित देशका मुख्य सहरमा निर्यात गर्ने लक्ष्य लिइएको छ।

यस्तै चौँरीको दूध मिसन कार्यक्रम अन्तरगत चौरी प्रवद्र्धन कार्यक्रम सञ्चालन गर्ने भएको छ। उत्कृष्ट कृषक छनौट गरी कृषकलाई पुरस्कार प्रदान गरिने कार्यक्रम अगाडि सारेको छ। गाउँपालिकाको वडा नम्बर ६ मा रहेको हुतीको अस्पताललाई १५ शय्याको अस्पतालमा स्तरोन्नति गर्न पहल गरिने योजना बनाइएको छ।

‘गाउँपालिकाको उपहार व्यासबासीलाई गुणस्तरीय सञ्चार’ कार्यक्रम लागु गरी गाउँपालिका भरिका नमस्ते टावरको स्तरोन्नति गरिनेछ। यस्तै कालापानी क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सरकारको अनुभूति दिलाउन छाङरुको नमस्ते टावर सञ्चालनमा ल्याई तिङकरमा टावर बनाउन पहल गरिने भएको छ।

कैलाश मानसरोवर, कालापानी लिपुलेकसम्म पुग्ने छोटो मार्ग निर्माण गर्न श्रीबगडदेखि गाउँपालिका केन्द्रसम्म जोड्ने सडक निर्माण कार्य सुचारु गर्न पहल गरिने गाउँपालिकाले जनाएको छ। भारतबाट अतिक्रमित नेपाली भू–भाग कालापानीसम्म पुग्ने गोरेटो बाटो निर्माण गर्न पहल गरिने भएको छ।

गाउँपालिकाले आगामी आर्थिक ०७८/७९ का लागि ३७ करोड १७ लाख ३४ हजार रुपैयाँको बजेट गाउँसभामा पेश गरेको छ। गाउँपालिका अध्यक्ष दिलीपसिह बुढाथोकीले आगामी आर्थिक वर्षका लागि चालूतर्फ १७ करोड ९ लाख ८७ हजार तथा पुँजीगततर्फ २० करोड ७ लाख ४७ हजार रुपैयाँको अनुमानित बजेट पेश गरेका हुन्।

गाउँपालिकाले संघीय सरकारबाट प्राप्त हुने विभिन्न अनुदान अन्तरगत २७ करोड ८१ लाख, प्रदेश सरकारबाट दुई करोड ४ लाख ७७ हजार अनुदान प्राप्त हुने अनुमान गरिएको छ। गाउँपालिकाको आन्तरिक आम्दानी २५ लाखको प्रक्षेपण गरिएको छ।