राजनीति

विष्णु पौडेललाई ५ मन्त्रालय : अरु ३ जनाले कुन-कुन मन्त्रालयको जिम्मेवारी पाए ?


काठमाडौँ – उपप्रधानमन्त्री तथा अर्थ मन्त्री विष्णु पौडेलले शुक्रबार थप तीन मन्त्रालयको पनि जिम्मेवारी सम्हाल्दै छन् ।

अर्थ मन्त्री पौडेलले उद्योग, वाणिज्य तथा आपूर्ति, ऊर्जा, जलस्रोत तथा सिंचाइ र गृह मन्त्रालयको पदभार ग्रहण गर्न लागेका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटनपछि गरेको मन्त्रिपरिषद विस्तारलाई सर्वोच्च अदालतले बदर गरिदिएपछि २५ सदस्यीय मन्त्रिपरिषद हाल पाँच सदस्यमा कायम छ ।

मन्त्रिपरिषद सदस्यहरुलाई प्रधानमन्त्री ओलीले बिहीबार मन्त्रालय बाँडफाँट गरिदिएका थिए । रक्षा र परराष्ट्र मन्त्रालय प्रधानमन्त्री ओलीले आफैंसँग राखेका छन् ।

शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, श्रम तथा रोजगार मन्त्रालय र वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

बसन्तकुमार नेम्वाङले कृषि तथा पशुपन्छी विकास, खानेपानी, भौतिक पूर्वाधार, सञ्चार तथा सूचना प्रविधि र सहरी विकास मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

कानुन, न्याय तथा संसदीय मामिला मन्त्री रहेका लीलानाथ श्रेष्ठलाई भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, संस्कृति पर्यटन तथा नागरिक उड्डयन र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको पनि जिम्मेवारी दिइएको छ ।