राजनीति

कांग्रेसमा बुढापाका कै शासन


काठमाडौँ – नेपाली कांग्रेसको महाधिवेशन नजिकिएसंगै पार्टी नेतृत्वका लागि सरगर्मी चलिरहेको छ । सभापतिमा शेरबहादुर देउवाले पुनः ईच्छा जाहेर गरेरनेता कार्यकर्ता माझ लविङ नै सुरु गर्दा युवा पंक्ति भने खोज्नु पर्ने अवस्थामा छन् । के गर्दैछ कांग्रेसको युवा नेतृत्व ? कांग्रेसभित्र शिर्ष नेतृत्व परिवर्तन अथवा बुढाहरुको विकल्पमा युवाहरु उदाउन १४ औं महाधिवेशनलाई निकै महत्वका साथ हेरिएको थियो । तर महाधिवेशनको सरगर्मी सुरु भएसंगै सभापतिका लागि पुरानै बुढाहरुको पंक्ति तात्तिएपछि युवाहरु खोज्नुपर्ने अवस्थामा छन् ।

महाधिवेशन अघिसम्म युवाहरुमा नेतृत्व हस्तान्तरणको मुद्दा उचालिरहेका गगन थापा, चन्द्र भण्डारी, विश्वप्रकाश शर्मा, गुरुराज घिमिरे, प्रदीप पौडेल, उदय राणार धनराज गुरुङलगायतका नेताहरुमा महाधिवेशनको चटारो देखिएको छैन ।

सबैभन्दा पुरानो प्रजातान्त्रिक पार्टीमा पुरानै नेताहरुको दबदबा कायम छ । बुढाहरुबाट शासित युवाहरु मध्येका गगन थापाले १३ औं महाधिवेशनमा महामन्त्रीमा हारेपछि १४ औं महाधिवेशनमा कसरी अघि बढ्ने भन्ने स्पष्ट भइसकेका छैनन् । एक हिसावले गगनको हारबाट सबै युवा पंक्ति हच्किएको देखिन्छ । बरु उनीहरुको हैसियत बुढाहरुकै साहरामा आफ्नो पद सुरक्षीत गर्न तर्फ उद्दत बनेको कार्यकर्ताहरुको टिप्पणी छ ।समाजले राजनीतिमा युवा नेतृत्वको आशा गरिरहँदा उही पुराना र पाका, थाके–हारेका अनुहारहरू अगाडि आइरहेका छन् ।

यसै पनि कांग्रेस बुढाहरुको पार्टीका रुपमा परिचित छ । युवाहरुले नेतृत्वमा भूमिका खोज्नु मरुभूमिमा पानी खोजेजस्तै भएको विश्लेषणहरु भईरहन्छन् । तथापी सम्पूर्ण युवा पंक्ति एक भएर उभिदाँ छुटै शक्तिको स्थापना गर्न सकिन्छ भन्ने तर्फ ध्यान दिएको देखिदैन ।बरु अहिले सभापतिको आकांक्षीका रुपमा देखिएका नेताहरुले महामन्त्री लगायतका पद दिएर युवाहरु तान्न उनीहरुको प्रयोग गरिरहेका छन् ।

चुनावमा पार्टीले ब्यहोरेको लज्जास्पद हार र प्रमुख प्रतिपक्ष दलको नेताका रुपमा देखाएको कमजोर प्रस्तुतिले पार्टी सभापतिशेरबहादुर देउवाको विकल्प खोज्नैपर्नेमाधेरैको एकमत छ । विकल्पमा युवा नै नेतृत्वमा आए कांग्रेसीका लागि सुखःद हुने कार्यकर्ता पंक्तिको ईच्छा पनि देखिन्छ । किनकि अहिले कांग्रेसमा पुस्ता हस्तान्तरण अपरिहार्य छ । कांग्रेसभित्रका युवा नेतृत्वहरु अब पार्टीको निर्णायक स्थानमा जान सक्षम भएको छन् ।अबपनि कांग्रेसलाई पुरानै पुस्ताले चलाउने हो भने कांग्रेसको अस्तित्व संकटमा पर्ने देखिन्छ । अहिले कांग्रेसको शिर्षतह७० देखि ७५ बर्ष उमेर समुहको र दोश्रो पंक्तिका नेतृत्वहरु पनि ६०/६५ वर्ष काटेका छन् । सक्रिय राजनीतिबाट विश्राम लिने समय भएकाहरुले त्यागको राजनीति गर्न सकेनन् र युवा पंक्तिले पार्टीको नेतृत्वमा प्रभाव जमाउन सकेनन्। सोही कारण कांग्रेसभित्र विस्तारै युवाहरुको आकर्षण समेत कमजोर हुँदै गएको छ ।