देश

पाल्पामा मोटरसाईकल दुर्घटना हुँदा एकको मृत्यु


काठमाडौँ – पाल्पामा मोटरसाईकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । तिनाउ गाउँपालिका–३ झुम्सास्थित पाल्पाबाट बुटवलतर्फ जाँदै गरेको लु ६७ प ५९११ नम्बरको मोटरसाईकलमा सवार दुई जनामध्ये एक जना भने घाइते भएका छन् । बिहीबार दिउँसो अनियन्त्रित भई सडकमा पल्टिँदा बर्दियाको बासगढी नगरपालिका ६ निवासी ३६ वर्षीय जग्गु डाँगीको मृत्यु भएको हो ।

मोटरसाइकल पछाडि बस्ने सोही स्थानका ३० वर्षीय दिपेन्द्र चौधरी घाइते भएका हुन् । दुबै जनालाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल लगिएकोमा दिउँसो ३ बजेर ३७ मिनेट जाँदा डाँगीको मृत्यु भएको पाल्पाका सूचना अधिकृत प्रहरी निरीक्षक लक्ष्मण पचभैयाले जानकारी दिए ।

घाइते चौधरीको भने अवस्था सामान्य रहेको बताइएको छ । उनीहरु दुवैजना झुम्सा चौकी भञ्ज्याङमा सडक निर्माणको कामका लागि बर्दियाबाट पाल्पा आएको जनाइएको छ ।