राजनीति

विपक्षी गठबन्धन प्रधानमन्त्री फेर्न नभई संविधान, गणतन्त्र, धर्म निरपेक्षताको रक्षार्थ भएको प्रचण्डको भनाई


काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विपक्षी गठबन्धन प्रधानमन्त्री फेर्ने मात्रै नभएको बताएका छन् ।

विपक्षी गठबन्धनले आयोजना गरेको सम्पादकसँगको छलफलमा लामो यात्राका लागि सैद्धान्तिक आधारहरु तय गरेर नै आफूहरु एक ठाउँमा आएको उनले बताएका हुन् । छलफललाई सम्बोधन गर्दै सामाजिक सञ्जालमा प्रपोगाण्डा चलाइएजस्तो सरकार फेरबदलको खेल नभए र संविधान, गणतन्त्र, धर्म निरपेक्षताको रक्षार्थ भएको बताए छन् ।

“यो केपी ओलीलाई हटाउने मात्रै आन्दोलन होइन, संविधान, लोकतन्त्र, राष्ट्रियताको रक्षा गर्ने अभियान पनि हो,” उनले भने । अहिले विपक्षी गठबन्धनका पाँच घटकको अलगअलग पृष्ठभूमि भए पनि परिवर्तनका लागि सबैको समयसापेक्ष योगदान दिँदै आएको बताए ।

एक प्रसंगमा आफूले नेकपाबाटै आन्दोलन गर्न चाहेको पनि बताए । कतिपयले केपी ओली र प्रचण्डलाई उस्तैउस्तै भन्ने गरेको भन्दै दुखेसो पनि पोखे । “अप्ठ्यारो पर्छ भने कुर्सी छाड्न तयार हुने र सबैथोक सिध्याएर भए पनि कुर्सीचाहिँ जोगाउनुपर्छ भन्ने ओली एकै हो ?” उनको प्रश्न थियो ।

उनले विपक्षी दल हुँदा पनि संविधान निर्माणमा भूमिका खेलेका, संविधान निर्माणमा भूमिका खेल्न, धाँधली हुँदाहुँदै पनि २०७० को निर्वाचन परिणाम स्वीकार गरेको पृष्ठिभूमि पनि केलाए ।