कोरोना विशेष

चीनद्वारा बीआरआई र कोरोनाबारे नेपालसहित ३० मुलुकसँग छलफल


काठमाडौँ – चीनले बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) र कोरोना महामारीबारे नेपालसहित ३० मुलुकका प्रतिनिधिसँग उच्चस्तरीय भर्चुअल संवाद गरेको छ । चिनियाँ विदेशमन्त्री वाङ यीले अध्यक्षता गरेको उक्त बैठकमा चीनको पूर्वाधार परियोजना बीआरआईमा हस्ताक्षर गरेका दक्षिण एसिया, दक्षिण पूर्वी एसिया, ओसियाना, मध्य एसिया, पश्चिम एसिया र ल्याटिन अमेरिकासहित अन्तर्राष्ट्रिय संघसंस्थाका प्रतिनिधि सहभागि थिए । नेपाली प्रतिनिधिमण्डलको नेतृत्व अर्थमन्त्री विष्णु पौडेलले गगर्नुभएको थियो ।

परराष्ट्र मन्त्रालयका अनुसार पौडेलले भर्चुअल सत्रलाई सम्बोधन गर्दै कोरोना महामारी नियन्त्रण गर्न खोप सहायतामा नेपालजस्ता मुलुकलाई प्राथमिकतामा राख्न आग्रह गर्नुभएको थियो । उक्त बैठकले कोभिड–१९ खोपको समान वितरणमा बेल्ट एन्ड रोड साझेदारिता र हरियाली विकासमा जोड दिएको थियो ।

अमेरिका, बेलायत, जर्मनी, जापान, अष्ट्रेलिया, इटाली, क्यानडा लगायतका ठूला सात विकसित मुलुकले गतसाता बेलायतमा आयोजना गरेको जी–सेभेन बैठकपछि चीनले त्यसलाई काउन्टर दिन गरि बीआरआइमा हस्ताक्षर गर्ने मुलुकहरुसँग छलफल गरेको हो । जी–सेभेन मुलुकहरुले आगामी वर्षसम्म १ अर्ब डोज खोप विपन्न मुलुकहरुलाई आपूर्ति गर्ने घोषणा गरेका छन् ।