राजनीति

जसपाको ठाकुर–महतो पक्षको बैठक बस्दै


काठमाडौँ –जनता समाजवादी पार्टी (जसपा) महन्थ ठाकुर– राजेन्द्रमहतो पक्षको बैठक आज बस्ने भएको छ । दिउँसो १ बजे बबरमहलमा उनीहरू समसामयिक राजनीतिक घटनाक्रमबारे केन्द्रित रहेर छलफलमा जुट्न लागेका छन् ।

जसपाको ठाकुर पक्ष नेता राजेन्द्र महतोसहित प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा गएको थियो । महतो उपप्रधान तथा सहरी विकास मन्त्री भएका थिए । जसपाबाट दुई राज्यमन्त्री र ९ जना मन्त्री भएका थिए । तर सर्वोच्चले अन्तरिम आदेश दिएसँगै १९ दिनमै मन्त्रीहरू पदमुक्त भएका थिए। मंगलबार पदमुक्त भएका मन्त्रीहरू र नेताहरू अब कसरी अगाडि बढ्ने भन्नेबारे छलफलमा जुट्न लागेका छन् ।

अध्यक्ष ठाकुर पक्ष सरकारमा गएको थियो भने अर्का अध्यक्ष उपेन्द्र यादव विपक्षी गठबन्धनतर्फ लागेर नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भावी प्रधानमन्त्रीका लागि अगाडि सार्दै हस्ताक्षर गरेका थिए ।

अध्यक्ष ठाकुर र यादवले एकअर्कालाई कारवाहीसमेत गरेका थिए । तर निर्वाचन आयोगले ठाकुर र यादव दुबै पक्षको कारवाहीलाई कार्यान्वयनमा ल्याएको छैन ।