कोरोना विशेष

संक्रमण घट्यो, तर मृत्युदर अझै घटेन


काठमाडौँ – पछिल्लो समय कोरोना संक्रमण दरमा कमी आए पनि मृत्युदर भने अझै घट्न सकेको छैन । अझै पनि दैनिक सरदर ४०– ५० जनाको मृत्यु भइरहेको छ । यता विज्ञहरु भने होम आइसोलेनमा रहेकाहरु स्वास्थ्य अवस्था जटिल भएपछि मात्र अस्पताल आउने हुँदा मृत्युदर घट्न नसकेको बताउछन् ।

कोरोनाको पहिलो लहरमा संक्रमितको संख्या बढे पनि मृतकको संख्या भने न्यून थियो । तर, दोस्रो लहरमा संक्रमित र मृतकको संख्या आक्रमक रुपमा बढ्यो । अस्पतालमा बेड, अक्सिजनको अभावमा कतिपय संक्रमितले अकालमा ज्यान गुमाउनु प¥यो । अहिले केही दिनयता अस्पतालमा अक्सिजनको पहुँच सहज भएपश्चात उपचारमा सहज हुन थालेको छ । तर, कोरोनाको पहिलो लहरको तुलनामा अहिले पनि मृत्युदर भने घटेको छैन । जेठ महिनामा मात्र ३ हजार सय ९६ जनाले ज्यान गुमाए । असार १ देखि ७ गते सम्मको तथ्याङकलाई हेर्ने हो भने ३ सय ८ जनाले ज्यान गुमाएका छन् । गत वर्ष यो अवधिमा मृत्युदर ०.२ प्रतिशत थियो । गत वर्ष सबै भन्दा बढि कार्तिक १९ गते एकै दिनमा ३० जनाले ज्यान गुमाएका थिए । तर, अहिले अझै पनि दैनिक ४० देखि ५० जनाको कोरोना संक्रमणबाटै ज्यान गईरहेको छ । यता विज्ञ भने सक्रमण दरमा केही कमी देखिएको भएपनि अधिकांश सक्रमित होम आइसोलेनमा रहेका र स्वास्थ्य अवस्था जटिल भएपछि मात्र अस्पताल आउने हुँदा मृत्युदर घट्न नसकेको बताउँछन् ।

यो वर्ष नयाँ भेरिन्टको तीव्र संक्रमण दरले छोटो समयमै धेरैमा फैलिनु, धेरै संक्रमित हुँदा गम्भीर लक्षण भएकाहरूको संख्या बढ्नु, सबैले बेलैमा सुविधासम्पन्न अस्पतालमा नुपग्दा र पुगेका अस्पतालहरूमा पनि बिरामीको चापअनुसार उचित व्यवस्थापन हुन नसक्नुले मृत्युदर बढेको विज्ञहरु बताउछन् ।

मंगलबारबाट निषेधाज्ञालाई खुकुलो बनाउँदै सरकारले जनजीवन सामान्य पार्दै लगेको छ । लामो अवधिको निषेधाज्ञामा पनि सरकारले कोरोना नियन्त्रणको लागि बैकल्पिक ठोस कदम चाल्न नसकेको र खोप आयातमा कुनै प्रगति गर्न नसकेको भन्दै आलोचना हुने गरेको छ ।
सरकारको कमजोर तयारी र नागरिकको लापर्वाहीले पनि कोरोनाको संक्रमित र मृतकको संख्या अपेक्षाकृत घट्न नसकेको विज्ञहरु बताउँछन् ।