राजनीति

प्रतिनिधि सभा विघटन सम्बन्धमा परेका रिटमाथि आजदेखि निरन्तर सुनुवाइ हुने


काठमाडौँ – प्रतिनिधि सभा विघटन सम्बन्धमा परेका रिटमाथि आजदेखि संवैधानिक इजलासमा निरन्तर सुनुवाइ हुने भएको छ । कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनुपर्ने मागसहित १४६ जना सांसदले दिएको रिटमा सबैभन्दा पहिला सुनुवाइ हुनेछ ।

जेठ ७ गते मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले मध्यरातमा प्रतिनिधि सभा विघटन गर्दै चुनाव घोषणा गर्नुभएको थियो । राष्ट्रपतिले प्रतिनिधि सभा विघटन गर्नुअघि देउवालाई प्रधानमन्त्रीमा समर्थन रहेको भन्दै १४९ जना सांसदले शितल निवासमा हस्ताक्षर बुझाएका थिए । एमालेका अध्यक्ष केपी ओलीले पनि एमाले संसदीय दल र जनता समाजवादी पार्टीको संसदीय दलले आफूलाई प्रधानमन्त्रीमा समर्थन गरेको पत्र शितल निवासमा बुझाउनुभएको थियो ।

१४९ जना सांसदले हस्ताक्षर बुझाउँदा पनि देउवालाई प्रधानमन्त्री नियुक्त नगरेकोलगायत विषयमा सर्वोच्चमा ३० रिट परेका छन् । सर्वोच्चले ती सबै रिटको संवैधानिक इजलासमा सुनुवाइ गर्ने निर्णय गरेको छ । तीमध्ये सबैभन्दा पहिला देउवाको रिटमा सुनुवाइ हुने र त्यसपछि मात्रै अन्य २९ रिटमाथि सुनुवाइ हुने सर्वोच्चले जनाएको छ । पहिलो दिनको सुनुवाइमा देउवा पक्षले आफ्नो तर्फबाट दुई जना अधिवक्ता र तीन जना वरिष्ठ अधिवक्ताले बहस गर्ने भएका छन् ।

सर्वोच्च अदालतले नै रिट निवेदक पक्षलाई सुरूमा १२ घन्टा र पछि जवाफी बहसका लागि ३ घन्टा गरी १५ घन्टा समय व्यवस्थापन गरिदिएको थियो ।