राजनीति

यी पूर्वमाओवादीको पीडा न ओलीले बुझे, न प्रचण्डले (भिडियोसहित)


काठमाडौँ – एकपछि अर्को गरी नाटकीयरूपमा विकसित राजनीतिक घटनाक्रमले एमालेभित्रका ‘माओवादी’ नेताहरू असमञ्जसमा परेका छन् । न सन्तोषजनक भूमिका न त भविष्यको स्पष्ट मार्गचित्र, बरु बढ्दो असन्तुष्टि र अन्तरकलहले एमालेभित्रका ‘माओवादी’लाई ठूलो असमञ्जस पैदा भएको छ ।
राष्ट्रिय राजनीतिमा एक पछि अर्काे गरि बदलीएको घटनाक्रमले एमालेभित्र रहेका पूर्व माओवादी नेताहरु कुहिरोभित्र हराएको काग बनेका छन् । न एमाले पार्टीभित्र स्पष्ट मार्गचित्र र जिम्मेवारी न पूर्व माओवादीभित्र फर्कने वातावरण । संघटनको घडीमा आफ्नो पुरानो कित्तामा नफर्किएर सत्ताको स्वादमा लिप्त भएर ओलीलाई साथ दिएका माओवादीहरु यस्तो विलखबन्दमा परेका छन् की न घर न घाटमा परेका छन् ।
मन्त्रिपरिषद् पुनगर्ठनमा प्रधानमन्त्री केपी ओलीले लिएको पछिल्लो नीति र आफ्नै समूहका नेता एवं पूर्वगृहमन्त्री रामबहादुर थापाको भूमिकाले एमालेभित्रको ‘माओवादी’ मा घरझगडाले चुली छुन लागेको छ ।

एमालेको दसौं महाधिवेशन आयोजक कमिटीको वैधानिकतालाई लिएर सर्वोच्च अदालतले प्रश्न उठाएपछि एमालेत्रिका ‘माओवादी’नेताहरू मनमा शंकै शंकाले डेरा जमाएको छ । भने आफ्नो भविष्य सुनिश्चीत गर्न बालुवाटारको दौडधुपलाई निक्कै बाक्लो बनाएका छन् । तर स्वयम प्रधानमन्त्री ओली नै उनीहरुको भविष्यका बारेमा अनविज्ञ देखिन्छन् ।
यता माओवादी पार्टीले पनि उनीहरुलाई निष्कासन गरेको पत्र निर्वाचन आयोगलाई बुझाएर फिर्ता हुने ढोकामा ताल्चा मारेका छन् । जुन चाल्चा उनीहरुको हकमा अब उप्रान्त नखुल्ने माओवादीहरुको भनाई छ ।

मन्त्री पदकै रसमा डुबेर माओवादीमा नफर्किएकाहरु अहिले ओलीले एमालेको केन्द्रीय सदस्यमा मनोनित गरे पनि त्यो आशिर्वाद समेत खेर जाने स्थीति पैदा भएको छ । त्यसो त उनीहरुसंग न मन्त्री पद छ न एमालेभित्र नेताको हैसियत । बरु पूर्व माओवादीहरुले आफ्नो भित्री नेता मानेका रामबहादुर थापा बादलले समेत यसरी धोका दिए की अरु कुनै नेता नभएझेँ गरी आफ्नै श्रीमतिलाई मन्त्रीका लागि सिफारिस गरिदिए । त्यसो त एमालेभित्र गुटको लडाइँ त परको कुरा पूर्व माओवादी नेताहरु नै आपसी लडाइँमा व्यस्त छन् । एमालेमा ‘पूर्वमाओवादी’ले रामबहादुर थापालाई मुख्य नेता मान्न आनकानी गरेका गाइगुइ सुनिन थालेको छ ।

यदी त्यसो भयो भने एमालेमा रहेको माओवादीहरुको सानो झुण्ड पनि तितरवितर हुने अवस्था आउनेछ । त्यतिमात्र होइन, पूर्वगृहमन्त्री थापालाई मात्र काखी नच्याप्न रायमाझी, प्रभु साह, मणि थापा र लेखराज भट्टलगायतले प्रधानमन्त्री ओलीसँग आग्रह नै गरेको कतिपयको भनाई छ । त्यसबाहेक उनीहरुले एमालेबीच एकता भए आफ्नो भूमिका के हुन्छ भन्ने विषयमा समेत प्रधानमन्त्री ओलीसँग स्पष्ट हुन खोजेका छन् । एक प्रकारले पूर्व माओवादीहरु ओलीसंग मारे पाप पाले पुण्य भने झैँ गरि आत्मसमर्पण गर्न खाजेको देखिन्छ ।

एमालेभित्र पार्टी मिलाउन लागि परेका दोस्रो तहका नेताहरुको प्रयास सफल भयो भने माधव पक्षको अडान अनुसार पहिलो प्रहारमा पूर्व माओवादीहरु पर्ने निश्चत नै हो । त्यसो त ओलीले चाहँदैमा उनीहरुको संरक्षण सम्भव देखिन्न । एमाले विवाद वारपार र अदालतको निर्णय नआएसम्म एमालेमा पूर्वमाओवादीहरुको भूमिका के हुन्छ, यसै भन्न सक्ने अवस्था छैन । यतिबेला एमालेभित्रका पूर्व माओवादीहरु आफ्नो राजनीतिक जीवनकै कठिन अक्करमा आइपुगेका छन् ।