राजनीति

सर्वोच्चले प्रधानमन्त्रीलाई संविधानको शक्ति देखाइदियो : विश्वप्रकाश शर्मा


काठमाडौँ – नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले कामचलाउ प्रधानमन्त्रीले गरेको मन्त्रिपरिषद् विस्तारलाई बदर गरेर सर्वोच्च अदालतले प्रधानमन्त्रीको संविधानमाथि श्रृङ्खलाबद्ध बलमिच्याइँलाई अस्वीकृत गरेको बताउनुभएको छ । प्रवक्ता शर्माले सर्वोच्चको आदेशले प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशैली संविधानविपरीत भएको पुष्टि गरेको बताउनुभयो ।

‘संविधानमाथि प्रधानमन्त्रीबाट श्रृङ्खलाबद्ध बलमिच्याइँ भइरहेको थियो, आजको सर्वोच्चको आदेश त्यसको विनम्र अस्वीकारोक्ति हो,’ उहाँले भन्नुभयो, ‘म नै राज्य हुँ भन्ने प्रधानमन्त्रीको शैली असंवैधानिक थियो भन्ने पुष्टि हो ।’

उहाँले कामचलाउ प्रधानमन्त्रीको सीमाका बारेमा पनि अदालतले रेखा कोरिदिएको र यसबाट प्रधानमन्त्रीका लागि सिकाइ पनि भएको बताउनुभयो ।