समाचार

गरिब देशमा खोपको चरम अभाव, खोप अभियान नै रोक्नु पर्ने बाध्यता : डब्लुएचओ


काठमाडौं – विश्वका धेरै गरिब देशहरुले कोरोना भाइरसविरुद्धको खोप अभावमा खोप अभियान जारी राख्न नसकेको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले बताएको छ । खोपको समान पहुँच सुनिश्चित गर्न सुरु गरिएको कोभ्याक्स अभियान अन्तर्गत खोप पाइरहेका धेरै गरिब देशहरुमा अहिले कोरोनाविरुद्धको खोपको अभाव रहेको र ती देशमा खोप अभियान रोक्नु पर्ने बाध्यता रहेको डब्लुएचओले बताएको छ ।

डब्लुएचओका वरिष्ठ सल्लाहकार डाक्टर ब्रुस एलवर्डले कोभ्याक्स कार्यक्रममार्फत ९ करोड खोप १ सय ३१ वटा देशमा वितरण भएको बताए । तर, यो मात्रा विश्वव्यापी रुपमा अहिले पनि फैलिरहेको कोरोनाको संक्रमणबाट मानिसहरुलाई जोगाउनका लागि पर्याप्त नरहेको उनले बताए । अफ्रिकी देशहरुमा कोरोना भाइरस महामारीको तेस्रो लहर देखिँदा खोपको अभाव भएको हो । अफ्रिका महादेशमा अहिलेसम्म कोरोनाविरुद्धको खोपको चार करोड मात्रा मात्रै लगाइएको छ । यो कुल जनसंख्याको दुई प्रतिशत भन्दा कम हो ।

धनी देशहरुले गरिब देशका लागि खोप खरिद गरेर समान रुपमा वितरण गर्ने उद्देश्यसहित गत वर्ष कोभ्याक्स अभियान घोषणा भएको थियो । डब्लुएचओको नेतृत्वमा अरु अन्तर्राष्ट्रिय संगठनहरुको साथ रहेको कोभ्याक्स अन्तर्गत सन् २०२१ को अन्त्यसम्ममा विश्वभर खोपको दुई अर्ब मात्रा वितरण गर्ने लक्ष्य तय गरिएको थियो । तर सो लक्ष्य पूरा हुने अवस्था देखिएको छैन । गरिब देशका कम्तीमा २० प्रतिशत जनताका लागि खोप उपलब्ध गराउने कोभ्याक्स अभियानको लक्ष्य रहेको छ ।

तर उत्पादनमा भएको ढिलाइले आपूर्तिमा गम्भीर असर परेको छ । नेपालसहित विश्वका धेरै देशले कोभ्याक्स अन्तर्गतको थप खोप पाउन सकेका छैनन् । डब्लुएचओले गरिब देशका लागि खोप सहयोगको मात्रा बढाउन धनी देशसँग निरन्तर आग्रह गर्दै आएको छ ।