समाचार

काठमाडौं उपत्यकाको निषेधाज्ञा आजदेखि खुकुलो


काठमाडौं – काठमाडौं उपत्यकाको निषेधाज्ञा आजदेखि खुकुलो बनाइएको छ । केही खुकुलो व्यवस्थासहित एक हप्ताका लागि निषेधाज्ञा लम्ब्याइएको छ ।

आजदेखि काठमाडौँ उपत्यकामा निजी सवारी साधान जोरबिजोर प्रणालीअनुसार सञ्चालन गर्न पाइनेछ । ट्याक्सी पनि संचालन गर्न पाइने भएको छ । सार्वजनिक सवारी साधन संचालनमा भने रोक लगाइएको छ ।यस्तै पसलहरु पनि बार अनुसार खोल्ने व्यवस्था गरिएको छ । आइतबार, मंगलबार र बिहीबार सुनचाँदी, भाँडा, विद्युतीय, घरायसी सामान, अटोमोबाइल र त्यसका पार्टपुर्जाका पसल खोल्न पाइने छ ।

यस्तै, सोमबार, बुधबार र शुक्रबार सपिङ मल, खेलकुद सामग्री, कपडा, जुत्ता, फेन्सी, कस्मेटिक, गिफ्ट र टेलर्स खोल्न पाइने छ । बार अनुसार खुल्ने पसल बिहान ११ देखि अपराह्न ४ बजेसम्म खोल्न पाइने छ । खाद्यान्न, फलफूल र तरकारी पसल भने यसअघि नै दैनिक बिहान ११ बजेसम्म खुलिरहेका छन् ।