राजनीति

निधि, कोइराला र सिंह एक ठाँउ, देउवाको विकल्पबारे छलफल


काठमाडौँ – नेपाली कांग्रेसको महाधिवेशन तोकिएसंगै तयारीका लागि नेताहरुबीच छलफल चलिरहेको छ । सोमबार दिउँसो कांग्रेस उपसभापति विमलेन्द्र निधि, महामन्त्री डा. शशांक कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंहबीच ‘लञ्च मिटिङ’ भएको छ ।

सर्वसम्मत नेतृत्व चयनका पक्षमा लबिङ गर्दै आएका उपसभापति निधिले आफ्नो वैवाहिक वर्षगाठको अवसर पारेर नेताहरुलाई निवासमै बोलाएका थिए । तीनै जना सभापतिका आकांक्षी हुन् । स्रोतका अनुसार तीन नेताबीच निधि निवास मध्य वानेश्वरमा सोमबार दिउँसो भएको दुई घण्टा लामो भेटमा पार्टीको आसन्न महाधिवेशनमै केन्द्रित भएर कुराकानी भएको हो ।

आजको लञ्च मिटिङमा पनि तीनैजना नेताले नेतृत्वका लागि आफ्नो दावी पेस गरेका छन् । निधि निकट स्रोतका अनुसार कांग्रेस सभापति शेरबहादुर देउवालाई पनि निम्तो दिइएको थियो । तर देउवा आफूनिकट केन्द्रीय सदस्यहरुसँग छलफलमा रहेकाले आउन ढिलो भएको बताइएको छ ।