राजनीति

देउवालाई महाधिवेशनको चटारो: आज ३ प्रदेशका नेतासँग छलफल गर्दै


काठमाडौँ – नेपाली कांग्रेसको महाधिवेशनका लागि २ महिनाको समय बाँकी रहँदा शीर्ष नेतृत्वका लागि नेताहरुले तयारी सुरु गरेका छन् । सभापति शेरबहादुर देउवा पार्टीमा पुन नेतृत्व लिने तयारीमा छन् भने अन्य एक दर्जन नेताहरुले पनि सभापतिको आँकक्षी देखिएका छन् । तर संस्थापन पक्षबाट सर्वसहमत उम्मेदवार बन्ने सोचमा रहेका देउवालाई उपसभापति विमलेन्द्र निधिको दाबेदारी भने टाउको दुखाई बनेको छ ।
देउवाले आज लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका केन्द्रीय पदाधिकारी एवं सदस्यहरुसँग छलफल गर्न लागेका छन् ।

छलफलका लागि ती प्रदेशबाट प्रतिनिधित्व गर्ने देउवा समूहका नेताहरु बुढानिलकण्ठ पुगिसकेका छन् । यसअघि शनिबार प्रदेश १ र २ तथा आइतबार बागमती र गण्डकी प्रदेशका नेताहरुसँग देउवाले छलफल गरेका थिए ।

कांग्रेसको १४ औं महाधिवेशन आगामि भदौ १६ देखि १९ गतेसम्म आयोजना हुँदैछ । महाधिवेशनबाट फेरि एक कार्यकालका लागि सभापति बन्न देउवाले चाहेका छन् ।

आफ्नै गुटका विमलेन्द्र निधिले पनि पार्टी नेतृत्वका लागि इच्छा देखाएपछि देउवामाथि दबाब परेको छ । फलत देउवाले उपसभापति निधिलाई यसपटक आफूलाई सहयोग गर्न आग्रह गरेका छन भने भावी प्रधानमन्त्री लागि समेत प्रस्ताब गरेको बुझिएको छ । यो पटक बरिष्ठ नेता रामचन्द्र पौडेल, कृष्ण सिटौला, प्रकाशमान सिंह , डा.शेखर कोईराला, डा.शशांक कोईराला, डा.रामशरण महत, सुजाता कोईराला पनि सभापतिको दौडमा छन् । त्यस्तै गगन थापाको पनि चर्चा सुरु भएको छ भने कुनै युवाले दाबी नगरे आफूले सभापतिमा दाबी गर्ने नेता कल्याण गुरुङले बारम्बार दोहो¥याउदै आएका छन् ।

यद्यपी सिटौला गुटका गगन थापा र रामचन्द्र गुटका कोईराला दाजुभाईसँगै महत र प्रकाशमान सिंहले पनि सभापतिमा दाबी गरेपछि दुबै गुटभित्रै खटपट हुने निश्चित छ । यदि आफ्नो गुट ब्यवस्थापन र अन्य सबै गुट छिन्नभिन्न भएमा पुनः आफूले बाजी मार्ने देउवाको आकंलन छ । त्यस्तै निधिले सहयोग नगरेपनि गच्छदार लिएर निधिको क्षति पुरा गर्ने रणनितिमा देउवा देखिन्छन ।

यसपटक कांग्रेसको नेतृत्व कोईराला परिवारमा फर्काउने योजनामा शशांक, शेखर र सुजाता छन् भने गणेशमान पुत्र प्रकाशमान सिंह पनि बाबुको विरासत धान्न सभापति जितेर काँग्रेस एक बनाउने सपनाका साथ अघि बढेका छन् । त्यसैगरी युवापुस्ताका नेताहरु पार्टी नेतृत्वमा सबै युवा मिलेर हस्तक्षेप गर्नुपर्ने तथा बुढा नेताले नेतृत्व हस्तान्तरण गर्नुपर्ने बताउदै आएका छन् ।