राजनीति

कांग्रेसमा सभापतिको दौड : निधिले साथ नदिए गच्छदार लिएर अघि बढ्ने रणनितिमा देउवा


काठमाडौँ – नेपाली कांग्रेसको महाधिवेशनका लागि २ महिनाको समय बाँकी रहँदा शीर्ष नेतृत्वका लागि नेताहरुले तयारी सुरु गरेका छन् ।

सभापति शेरबहादुर देउवा पार्टीमा पुन नेतृत्व लिने तयारीमा छन् भने अन्य एक दर्जन नेताहरुले पनि सभापतिको आँकक्षी देखिएका छन् । तर संस्थापन पक्षबाट सर्वसहमत उम्मेदवार बन्ने सोचमा रहेका देउवालाई उपसभापति विमलेन्द्र निधिको दाबेदारी भने टाउको दुखाई बनेको छ ।

नेपाली कांग्रेस केन्द्रीय समितिको बैठकले भदौ १६ देखि १९ गतेसम्म महाधिवेशन गर्ने निर्णय गरेसंगै शीर्ष नेताहरूले नेतृत्वका लागि तयारी सुरु गरेका छन् । कोरोना भाइरस संक्रमणका बीच महाधिवेशन हुनेमा शीर्ष नेताहरूबाटै आशंका व्यक्त भइरहेका बेला सभापति देउवाले भने पुन दोश्रो कार्यकालका लागि नेतृत्व लिने तयारी थालेका छन् । शनिबार प्रदेश १ र २ का आफू निकट केन्द्रीय सदस्यहरूलाई बोलाएर १४ औं महाधिवेशनमा पनि आफू नेतृत्वका लागि अघि सर्ने बताएका उनले आईतबार वाग्मती तथा गण्डकी प्रदेशका केन्द्रीय सदस्यहरूसँग समेत छलफल गरेका छन् ।

जसलाई आगामी महाधिवेशनको तयारीका रुपमा हेरिएको छ । बैठकमा सिटौला निकट मानिने कांग्रेस केन्द्रीय सदस्य शिवप्रसाद हुमागाँई पनि सहभागी भएका थिए । प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा पार्टीले लोकप्रिय मत पाए पनि प्रत्यक्षतर्फको सिट धेरै जित्न नसकेकोले आफ्नै नेतृत्वमा कांग्रेसलाई ठूलो पार्टी बनाउने देउवाको दाबी छ । उनको दाबीलाई उपसभापति विजयकुमार गच्छदार, सह–महामन्त्री सुनिल थापासहितका नेताहरूले सहयोग गर्ने बचन दिएका छन् भने केन्द्रीय सदस्यहरू ज्ञानेन्द्रबहादुर कार्की, मीन विश्वकर्मा, सीता गुरुङले देउवाको उम्मेदवारीका विषयमा मौन छन् ।

तर आफ्नै गुटका विमलेन्द्र निधिले पनि पार्टी नेतृत्वका लागि इच्छा देखाएपछि देउवामाथि दबाब परेको छ । फलत देउवाले उपसभापति निधिलाई यसपटक आफूलाई सहयोग गर्न आग्रह गरेका छन भने भावी प्रधानमन्त्री लागि समेत प्रस्ताब गरेको बुझिएको छ । यो पटक बरिष्ठ नेता रामचन्द्र पौडेल, कृष्ण सिटौला, प्रकाशमान सिंह , डा.शेखर कोईराला, डा.शशांक कोईराला, डा.रामशरण महत, सुजाता कोईराला पनि सभापतिको दौडमा छन् ।

त्यस्तै गगन थापाको पनि चर्चा सुरु भएको छ भने कुनै युवाले दाबी नगरे आफूले सभापतिमा दाबी गर्ने नेता कल्याण गुरुङले बारम्बार दोहो¥याउदै आएका छन् । यद्यपी सिटौला गुटका गगन थापा र रामचन्द्र गुटका कोईराला दाजुभाईसँगै महत र प्रकाशमान सिंहले पनि सभापतिमा दाबी गरेपछि दुबै गुटभित्रै खटपट हुने निश्चित छ । यदि आफ्नो गुट ब्यवस्थापन र अन्य सबै गुट छिन्नभिन्न भएमा पुनः आफूले बाजी मार्ने देउवाको आकंलन छ । त्यस्तै निधिले सहयोग नगरेपनि गच्छदार लिएर निधिको क्षति पुरा गर्ने रणनितिमा देउवा देखिन्छन ।

यसपटक कांग्रेसको नेतृत्व कोईराला परिवारमा फर्काउने योजनामा शशांक, शेखर र सुजाता छन् भने गणेशमान पुत्र प्रकाशमान सिंह पनि बाबुको विरासत धान्न सभापति जितेर काँग्रेस एक बनाउने सपनाका साथ अघि बढेका छन् । त्यसैगरी युवापुस्ताका नेताहरु पार्टी नेतृत्वमा सबै युवा मिलेर हस्तक्षेप गर्नुपर्ने तथा बुढा नेताले नेतृत्व हस्तान्तरण गर्नुपर्ने बताउदै आएका छन् ।