राजनीति

आगामी महाधिवेशनमा सभापतिमा दोहोरिने देउवाको तयारी, आफूनिकट नेताहरुसँग थाले परामर्श


काठमाडौँ – नेपाली कांग्रेसका सभापति शेरहादुर देउवाले आगामी महाधिवेशनमा सभापतिमा दोहोरिने तयारी थाल्नुभएको छ ।


कांग्रेसले भदौ १६ देखि १९ गतेसम्म पार्टीको महाधिवेशन गर्ने कार्यतालिका अनुमोदन गरेको दोस्रो दिन आज देउवाले आफूनिकट नेताहरुसँग सभापतिमा उठ्नेबारे परामर्श गर्नुभएको छ । आज बिहान सहमहामन्त्री सुनिल थापा, केन्द्रीय सदस्यहरु ज्ञानेन्द्रबहादुर कार्की, मीन विश्वकर्मा, सीता गुरुङ, बाबुराम बस्नेत, डा. डीला संग्रौला, सुजाता परियारलगायतसँग परामर्श गर्नुभएका देउवाले साँझ उपसभापति विमलेन्द्र निधिसँग पनि परामर्श गर्नुभएको छ ।

निधिसँगको भेटमा पनि देउवाले सभापतिमा दोहोरिन चाहेको बताउनुभएको थियो । संस्थापन पक्षमै रहेका निधिले पनि यसअघि नै सभापतिमा उम्मेद्वारी दिने घोषणा गर्नुभएको थियो । आजको देउवा र निधिबीचको वार्तामा दुबैले सभापतिमा उम्मेद्वारी दिने चाहना व्यक्त गरेपनि छलफल र अन्य नेताको चाहना अनुसार अघि बढ्ने सहमति भएको बताइएको छ ।