राजनीति

बाढी-पहिरो प्रभावित क्षेत्रमा उद्धार र राहत कार्य प्रभावकारी बनाउन विपक्षी गठबन्धनको माग


काठमाडौँ – मुलुकका विभिन्न भागमा गएको बाढी र पहिरोबाट विस्थापितलाई जनताको उद्दार तथा राहतलाई प्रभावकारी बनाउन सरकारसँग विपक्षी गठबन्धनले माग गरेको छ । साथै राहत तथा उद्दारमा सहयोग गर्न पार्टी कार्यकर्ता र संघसंस्थाहरुलाई आह्वान समेत गरेका छन् ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमकल दाहाल प्रचण्ड, एमाले वरिष्ठ नेता माधवकुमार नेपाल, जनता समाजवादी पार्टी जसपाका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेलले संयुक्त वक्तव्य जारी गर्दै बाढी, पहिरो र डुवानबाट पीडित जनतालाई आवास, खाद्यान्न लगायतका राहत प्रभावकारी बनाउन माग गरेका हुन् ।

‘इमान्दारी, तदारुकता र पारदर्शीरुपमा राज्यका सम्बन्धित सबै निकाय तथा साधन र स्रोतको पूर्ण परिचालन गरी विपद् व्यवस्थापनको कार्यलाई अघि बढाउन आग्रह गर्दछौं’ वक्तव्यमा भनिएको छ ।