राजनीति

गण्डकी प्रदेशका मुख्यमन्त्री मनाङ जाँदै, विपद् व्यवस्थापनका लागि पाँच करोड छुट्याइयो


काठमाडौँ – वर्षाका कारण नेपालको विभिन्न स्थानमा ठूलो भौतिक क्षति भएको छ । वर्षाका कारण बाढी पहिरोले गदाए गण्डकी प्रदेशका मनाङ जिल्लामा पनि ठूलो क्षति भएको छ ।

मनाङका विभिन्न स्थानमा बाढी–पहिरोले पुर्‍याएको क्षतिको अवलोकनका लागि गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलसहितका टोली बिहीबार मनाङ जाँदै छन् । गृह मन्त्रालयको समन्वयमा हेलिकोप्टर व्यवस्थापन गरी राहत सामग्रीसहित उनीहरु मनाङ जान लागेका हुन् ।

प्रदेशका मुख्यमन्त्री पोखरेलको अध्यक्षतामा बिहीबार बिहान बसेको गण्डकी प्रदेशस्तरीय प्रदेश विपद् व्यवस्थापन कार्यकारी समितिको बैठकले सरकारले प्रदेशस्तरीय विपद् कोषमा तत्कालका लागि पाँच करोडमा रुपैयाँ राख्ने निर्णय गरेको छ । प्रदेशका जिल्लाहरुमा भारी वर्षाका कारण क्षति भएकाले उद्धार, राहत र व्यवस्थापनका लागि उक्त रकम जम्मा गर्ने निर्णय गरिएको हो ।

मुख्यमन्त्री पोखरेलले प्रदेश र जिल्लास्थित सुरक्षाकर्मी, जनप्रतिनिधि, सरकारी तथा गैरसरकारी कार्यालयहरुलाई विपद्मा उद्धार, आवश्यक सहयोगमा जुट्न र पूर्वतयारीमा रहन निर्देशन दिएका छन् । बैठकमा मुख्यमन्त्री पोखरेलले वर्षाका कारण अवरुद्ध सडक तत्काल मर्मत गरी सञ्चालन गर्न भौतिक तथा पूर्वाधार मन्त्रालयलाई बजेट प्रबन्ध मिलाउनसमेत भनेका छन् ।