राजनीति

नियन्त्रणमा लिएकाहरुलाई रिहा गर्न नागरिक आन्दोलको माग


काठमाडौँ – बृहत् नागरिक अन्दोलनले प्रहरीले नियन्त्रणमा लिएका नागरिक अगुवाहरूको रिहाइको माग गरेको छ। अवैध ढंगले निजी मेडिकल कलेजलाई सम्बन्धन बाँड्ने सरकारी तयारीविरुद्ध प्रदर्शनमा उत्रिएका अभियन्तालाई तत्काल रिहा गर्न उनीहरुले माग राखेका छन् ।


नागरिक आन्दोलनले एक विज्ञप्ति जारी गर्दै पक्राउ परेकाहरूलाई तत्काल रिहा गर्न माग गरेका हुन् । उनीहरूलाई रिहा नगरेमा कडा संघर्षको कार्यक्रम गर्न बाध्य हुने चेतावनीसमेत दिएका छन् । ‘लोकतान्त्रिक प्रकृया र संविधानलाई नै घातक प्रहार गर्न उद्यत ओली सरकारले जनस्वास्थ्यको पक्षमा उत्रिएका अभियन्ताहरू लाई गिरफ्तार गर्दै आफ्नो सर्वसत्तावादी अनुहार फेरि प्रदर्शन गरेको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘हामी उहाँहरुको तत्काल रिहाइ गरिएन भने कडा संघर्षका कार्यक्रम गर्न हामी बाध्य हुने छौं।’

सत्तानिकट व्यक्तिको मेडिकल कलेजलाई सम्बन्धन दिने सरकारको तयारीविरुद्ध साहित्यकार एवं अभियन्ता खगेन्द्र संग्रौला, नारायण वाग्ले, युग पाठक, संजीव उप्रेती, अर्चना थापा, सरिता परियार, रिता परियार, प्रणेता, भास्कर गौतम, अनुभव अजित, घिमिरे युवराज, संगीत, भावना रावत, निर्घ नवीन, शशि विक्रम कार्की, सौरभ कार्की, सौरभ न्यौपाने र अन्जान बाबु प्रदर्शन गर्न शुक्रबार बिहान ११ बजे बालुवाटारमा पुगेका थिए। सोही क्रममा उनीहरुलाई प्रहरीले प्रक्राउ गरेको हो ।


निषेधाज्ञाको समयमा आन्दोलन गरेको भन्दै प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको बताएको छ । उनीहरूलाई प्रहरीले महानगरीय प्रहरी वृत्त कमलपोखरीमा राखेको छ।

बृहत् नागरिक आन्दोलनले जारी गरेको विज्ञप्ति:

चिकित्सा शिक्षा आयोगको स्वायत्तताविरुद्ध स्वेच्छाचारी डण्डा चलाउन लागि परेको केपी शर्मा ओली नेतृत्वको कामचलाउ सरकारको विरोधमा बालुवाटारमा प्रदर्शन गरेका बृहत् नागरिक आन्दोलनका १८जना अभियन्तालाई गिरफ्तार गरिएको छ। आज बालुवाटारमा ११ बजे प्रदर्शनको क्रममा उहाँहरुलाई गिरफ्तार गरी कमलपोखरी प्रहरी वृत्तमा लगिएको छ। 

साहित्यकार एवं अभियन्ता खगेन्द्र संग्रौलासँगै नारायण वाग्ले, युग पाठक, संजीव उप्रेती, अर्चना थापा, सरिता परियार, रिता परियार, प्रणेता, भास्कर गौतम, अनुभव अजित, घिमिरे युवराज, संगीत, भावना रावत, निर्घ नवीन, शशि विक्रम कार्की, सौरभ कार्की, सौरभ न्यौपाने र अन्जान बाबुलाई पक्राउ गरिएको हो।

लोकतान्त्रिक प्रकृया र संविधानलाई नै घातक प्रहार गर्न उद्यत ओली सरकारले जनस्वास्थ्यको पक्षमा उत्रिएका अभियन्ताहरुलाई गिरफ्तार गर्दै आफ्नो सर्वसत्तावादी अनुहार फेरि प्रदर्शन गरेको छ।

हामी उहाँहरुको तत्काल रिहाइ गरिएन भने कडा संघर्षका कार्यक्रम गर्न हामी बाध्य हुने छौं। हामी जनस्वास्थ्यको बजारीकरणलाई तीव्रता दिने सरकारको अलोकतान्त्रिक र अवैध कदमको भत्र्सना गर्दै जनस्वास्थ्यको पक्षमा देशभरि प्रतिरोध जारी राख्नपनि सबैलाई अपिल गर्दछौं।