विदेश

गरिब देशलाई दश करोड खोप उपलब्ध गराउने बेलायतको घोषणा


काठमाडौँ – बेलायतले गरिब देशहरुलाई दश करोड डोज कोरोना खोप वितरण गर्ने भएको छ । धनी देशहरूको समूह ‘जी–सेभेन’ बैठकको पूर्वसन्ध्यामा बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले आगामी केही साताबाट खोप उपलब्ध गराउन थाल्ने घोषणा गरेका हुन् ।

यस वर्षको अन्त्यसम्ममा ३ करोड डोज वितरण गरिने प्रधानमन्त्री जोनसनको भनाइ उदृत गर्दै स्काई न्यूजले उल्लेख गरेको छ । बाँकी खोप अर्को वर्षभित्रमा वितरण गरिने जोनसनले बताएका छन् । यसअघि अमेरिकाले पनि न्यून र मध्यम आय भएका देशहरुलाई ५० लाख डोज खोप उपलब्ध गराउने घोषणा गरेको थियो ।
बेलायतले यसअघि कोभ्याक्स कार्यक्रमलाई ५० करोड पाउन्ड उपलब्ध गराएको थियो । कोभ्याक्स कार्यक्रममार्फत् विश्वका गरिब देशहरूले खोप पाउँछन् । नेपालले पनि कोभ्याक्स कार्यक्रममार्फत् कोभिशिल्डको ३ लाख डोज प्राप्त गरेको छ। अन्तर्राष्ट्रिय अन्तरसरकारी आर्थिक संगठन जी(सेभनमा सात प्रमुख विकसित देशहरू अमेरिका, बेलायत, क्यानडा, फ्रान्स, जर्मनी, इटली र जापान सदस्य छन् ।