कोरोना विशेष

खोपमा अनुदानकै भर : खरिद प्रकरणमा सरोकारवालाको आ-आफ्नै दाउपेच


काठमाडौँ – कोरोनाको दोस्रो लहरले ठूलो क्षति गरिसक्दा सम्म नेपाल अन्य देशले अनुदानमा दिएको खोपको भरमै सिमित छ । सरकारकै लाचारीपनका कारण भारतबाट आउने खोप खरिद प्रक्रिया रोकियो भने अन्य विकल्पका बारेमा समेत प्रभावकारी कदम चाल्न सक्दा खोप आयातमा थप चुनौती देखिएको छ । कोरोनाका नयाँ नयाँ भेरियन्ट तीब्र रुपमा बढिरहेका बेला बेलैमा खोप उपलब्ध भएन भने नेपालमा जारी समस्या थप जटिल बन्न सक्ने चेतावनी डब्लुएचओले दिएको छ ।

नेपालजस्ता कोरोनाको दोश्रो लहरसँग जुधिरहेका देशहरु नयाँ नयाँ भेरियन्टहरुको चपेटामा पर्दै गएका छन् । दोश्रो लहरबाटै पार नपाएका देशहरुले तेश्रो लहरको समेत सामना गर्नुपर्ने देखिएपनि खोप खरिद प्रक्रियाका लागि नेपालले अहिलेसम्म उचित कदम चालेको छैन् ।

विज्ञहरुले कोरोनाका नयाँ भेरियन्ट आईरहने हुनाले खोप कार्यक्रमलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिएपनि सरकारले भने पहिलो डोज लगाएकालाई नै दोस्रो डोज दिन सकिरहेको छैन् । सबै नागरिकलाई खोप लगाउनुपर्ने दबाब भएपनि सरकारको तयारी भने सुस्त छ । अहिलेसम्म चीन र भारतबाट करिब ३० लाख डोज खोप मात्र नेपालमा अनुदानमा आएका छन् ।

बरु सरकार उल्टै अनुदानमा यती, उती खोप आउँन लाग्यो भन्दै नभएको हल्ला फैलाएर भ्रम सिर्जना गर्न खोजिरहेको देखिन्छ । बिहिवार मात्रै राष्ट्रपति र प्रधानमन्त्रीका सूचना सल्लाहकारले अमेरिकाले ५० लाख डोज खोप दिने भयो भन्दै अफवाह फैलाए । सरकारको जस्तो सुकै कदममा पनि जयजयकार गर्ने यस्ता विज्ञहरुले नभएको कुरालाई हल्ला फिजाउन कुनै कसरत बाँकी राखेनन् । वास्तवीकता थियो अमेरिकी राष्ट्रपति जो बाइडेनले एसिया तथा दक्षिण–पूर्वी एसियाका मुलुकलाई ७० लाख डोज खोप उपलब्ध गराउने घोषणा । तर राष्ट्रपति र प्रधानमन्त्रीका सूचना सल्लाहकारले राष्ट्रपतिको पहलमा ५० लाख डोज खोप नेपालले पाउने भयो भन्दै भ्रामक सूचना ट्वीटमार्फत फैलाए ।

भ्रामक सूचना आफैंले फैल्याएको चाल पाएपछि सल्लाहकारहरुले ट्वीट त हटाए । तर गल्ती गरेको कुरामा कुनै लाज नमानी अर्को ट्वीटमा राष्ट्रपतिको आलोचना गर्नेहरुलाई पाखण्डी भनेर प्रधानमन्त्रीका सल्लाहकारले गाली गर्न समेत भ्याए । काम भन्दा हल्ला बढी भएपनि नेपाली नागरिकलाई निशुल्क खोप लगाउने उदेश्य अनुरुप खोप खरिदका लागि २६ अर्ब ७५ करोड बजेट विनियोजन हुनु भने सकारात्मक विषय हो । तर खोप उत्पादक कम्पनीहरुले तत्काल खोप उपलव्ध गराउन नसक्ने बताएकोले बजेट हुँदा पनि खोप नपाउने खतरा बढेको छ । यसमा सरकारको पर्याप्त कुटनीतिक पहल हुन सकेको देखिंदैन ।

नेपालमा अहिलेसम्म अनुदानस्वरुप भारत र चीनबाट ३० लाख खोप उपलब्ध भएबाहेकका अरु प्रगती हुन सकेको छैन् । नयाँ नयाँ भेरियन्ट तीव्र गतिमा बढेको भन्दै खोपको विस्तार बढाउनका लागि भरपर्दो आपूर्तिको अभाव रहेको अवस्थामा पुनः संक्रमण वृद्धि हुने अत्याधिक सम्भावना देखिएको भन्दै डब्लुएचओले चेतावनी दिदै आएको छ ।

सरकारकै लाचारीपनका कारण भारतबाट आउने खोप पनि रोकिदा र बेलैमै विकल्पका बारेमा प्रभावकारी कदम चाल्न नसक्दा खोप आयातमा थप चुनौती बढदै गएको छ । त्यसो त भारतबाहेक तेस्रो मुलुकबाट खोप खरिद गर्न सहज हुने भएपनि सरकार र सरोकारवालाको स्वार्थमा भारतकै खोप कुर्दा खोप आयातमा थप विलम्ब हुने देखिन्छ । जस्ले गर्दा नेपाल कोरोनाका अन्य लहरको पनि सामना गर्न असफल हुने देखिन्छ ।