कोरोना विशेष

अनुगम नहँदा सर्लाहीमा कोरोना संक्रमण बड्दो,संक्रमित नै विवाह, भोज र मलामीमा


काठमाडौँ – कोरोना भाइरसको दोस्रो लहरले तराइका जिल्लाहरु हायल कायल भएका छन् । स्थानीयहरुकै लापरवाहीले गर्दा सर्लाही जिल्ला कोरोनाको हटस्पट बन्दै गएको छ । संक्रमण तीव्र रुपमा फैलिरहँदा पनि नियन्त्रणका लागि स्थानीय तहहरुको तयारी भने सुस्त देखिन्छ ।


दोस्रो भेरियन्टको कोरोना भाइरस सर्लाही जिल्लाभरी फैलिसकेको छ । २० वटा स्थानीय तहहरु रहेको यस जिल्लाका प्रत्येक पालिकामा सयौं मानिसहरुमा कोरोना संक्रमण पुष्टि भइसकेको छ । स्थानीय बासिन्दाको लापर्वाहीकै कारण सर्लाही जिल्ला अहिले कोरोनाको हट स्पट बनिरहेको छ । संक्रमण तीव्र रुपमा फैलिरहँदा पनि यसको नियन्त्रणका लागि स्थानीय तहहरुको तयारी भने सुस्त देखिन्छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र( डीसीसीएमसी)ले कोरोना महामारी विरुद्ध लड्न आ–आफ्नो स्तरबाट तयारी गर्न आग्रह गरे पनि यहाँका पालिकाहरुले कुनै तयारी गरेका छैनन् । स्थानीय प्रशासनले स्वास्थ्य सतर्कता अपनाएर कोरोना सक्रमितलाई घरमै बस्न भनेको छ । तर, संक्रमितहरु भने होमआइसोलेसन बस्नुपर्नेमा गाउँ गाउँ डुल्ने गरेका छन् ।

सार्वजनिक सभा, समारोह, विवाह, भोजभतेर, पुजा तथा मलामीमा संक्रमित सहभागी हुन्छन् । संक्रमितको अनुगमन नहुँदा अन्यलाई सर्ने जोखिम बढेको छ । प्रदेश नम्बर २ सरकारले पनि प्रत्येक स्थानीय निकायलाई क्वारेन्टिन र आइसोेलेशन व्यवस्थापन गर्न निर्देशन दिएको छ तर त्यसको पनि कार्यान्वयन भएको छैन । गत वर्ष कोरोनाको पहिलो लहरमा राम्रो तयारी गरेका यहाँका स्थानीय तहहरु अहिले भने कोरोना नियन्त्रणमा उदाशिन देखिएका छन् ।

जिल्लामै सबैभन्दा बढी कोरोना संक्रमितहरु रहेको सदरमुकाम मलंगवा नगरपालिकामा क्वारेन्टिन र आइसोलेशन नहुँदा संक्रमितहरु घरमै बस्दै आएका छन् । तर घरमै आइसोलेट भएर बस्छु भनेर गएका संक्रमितहरु घरमा नबसी टोल तथा बजारमा घुम्दै गरेको पाइएको छ । उनीहरू विभिन्न समारोहहरुमा सहभागी हुनका लागि घर बाहिर निस्कने गरेका छन् । कतिपय कोभिड अस्पतालमा उपचार गराइरहेका बिरामीको प्रत्यक्ष सम्पर्कमा आएका तिनका आफन्तहरु कोरोना परिक्षण नगराइ खुलेआम रुपमा बजारमा हिंडडुल गर्ने गरेको समेत पाइएको छ । यस्तो गम्भीर परिस्थितिलाई हल्का रुपमा नलिई सम्बन्धित पालिकाहरुले यसलाई रोक्न आ–आफ्नो वडाको जनप्रतिनिधिलाई होम आइसोलेसनमा बसेका संक्रमितको निगरानीमा लगाउन जानकारहरुले सुझाव दिएका छन् ।

सर्लाहीमा हालसम्म १ हजार ५ सय ३५ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ भने ६१ जनाले ज्यान गुमाइ सकेका छन् । सर्लाही जिल्लामा निको हुनेको संख्या एकदमै न्यून रहेको छ । हालसम्म ४०५ जना मात्र निको भएका छन् । जिल्लामा हाल १ हजार १७ जना सक्रिय संक्रमितहरु रहेको जिल्ला प्रशासन कार्यालय सर्लाहीले जनाएको छ । संक्रमण दरमा कमि नआएकोले पुनः चौथोपटक जेठ २५ गतेसम्मको लागि सर्लाहीमा निषेधाज्ञा थपिएको छ ।