समाचार

यूएई सरकारद्वारा १५० भेन्टिलेटरसहित स्वास्थ्य सामग्री सहयोग


काठमाडौँ – संयुक्त अरब इमिरेट्स (यूएई)ले कोरोना भाइरसको दोश्रो लहरविरूद्ध लड्न नेपाललाई स्वास्थ्य सामग्री सहयोग गरेको छ । यूएईस्थित नेपाली दूतावासका अनुसार यूएई सरकारले १५० भेन्टिलेटरसहित १२ टन अत्यावश्यक स्वास्थ्य सामग्री सहयोग गरेको हो ।

उक्त स्वास्थ्य सामग्री एक विशेष विमानमार्फत बुधवार काठमाडौं पठाइएको दूतावासले जनाएको छ । केहि दिनअघि मात्र परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली र यूएईका परराष्ट्र मामिला तथा अन्तर्राष्ट्रिय सहायता मन्त्रालयका अहमद बिन अली अल सायदबीच भएको भर्चुअल बैठकमा यूएईले चाँडै विशेष विमानमार्फत स्वास्थ्य सामग्री पठाउन लागेको जानकारी गराएको थियो ।

युएई सरकारले गतवर्ष अप्रिलमा पनि नेपाललाई स्वास्थ्य सामग्री सहयोग गरेको थियो।