समाचार

उपत्यकामा फेरि लम्बियो निषेधाज्ञा, पहिलेको भन्दा केही खुकुलो गरिने


काठमाडौँ – काठमाडौँ उपत्यकाका तीन जिल्लामा जेठ ३१ गतेसम्म निषेधाज्ञाको लम्बिएको छ। काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको बुधबार बसेको बैठकलेले निषेधाज्ञा जेठ ३१ सम्म लम्ब्याउने निर्णय गरेको हो। यसअघि जारी गरिएको कडा खालको निषेधाज्ञा जेठ २० गते बिहीबार राति १२ बजेपछि सकिदै छ ।

वैशाख १६ बाट जारी निषेधाज्ञालाई निरन्तरता दिँदै जेठ १४ बाट सो आदेशलाई थप कडा पारिएको थियो। जेठ १४ बाट उपत्यकामा बन्द गरिएको किराना पसल तथा खाद्यान्नका डिपार्टमेन्ट स्टोर खोल्न दिने निर्णय गरिएको छ। तर, किराना र डिपार्टमेन्ट स्टोर बिहान ९ बजेसम्म खोल्न दिइने भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले बताए। फलफूल र पुस्तक पसल पनि बिहान ९ बजेसम्म खुल्नेछन्।

यस्तै, विकास निर्माणको काम खुला गरिएको छ। तर, निर्माण सामग्री ओसार्न राति मात्र दिइने छ। दिउँसो लेबर राखेर काम गर्न दिइने छ। ‘साबिकमा हामीले किराना पसल र खाद्यान्नका डिपार्टमेन्ट स्टोर बन्द गराएका थियौं,’ भट्टराईले भने, ‘अब निषेधाज्ञा केही खुकुलो भएको बुझ्नुपर्छ।’

उनका अनुसार यातायातमा पुरानै नियम यथावत् छ। निजी संघ–संस्था, सरकारी तथा अत्यावश्यक कार्यका लागि सम्बन्धित निकायको परिचय–पत्र चाहिने छ। व्यक्तिगत रुपमा सवारी चलाउन अत्यावश्यक परे प्रमुख जिल्ला अधिकारीले जारी गरेको पास चाहिने छ।