समाचार

फ्रान्सले पठाएको सामग्री काठमाडौँ आईपुग्यो


काठमाडौँ – नेपाललाई कोरोना रोकथाम तथा नियन्त्रणका लागि विदेशी सहायता आउने क्रम जारी रहेको छ । नेपालको मित्रराष्ट्र फ्रान्सले पनि नेपाललाई कोरोना महामारी विरुद्धका सामग्री सहयोग गरेको छ । फ्रान्स सरकारले पठाएका सामग्री बोकेर विशेष जहाज काठमाडौँँ आएको हो ।

नेपालका लागि फ्रान्सका राजदूत फ्रान्कोइस जाभियर लेजरले त्रिभूवन विमानस्थलमा स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयस त्रिपाठीलाई सामग्री हस्तान्तरण गरेको छ । फ्रान्सले पाँच लाख चार हजार मास्क, २० हजार एन्टीजेन किट, १२ हजार चस्मा लगायतका सामग्री नेपाल पठाएको हो ।

स्वास्थ्यमन्त्री त्रिपाठीले सहयोगको लागि फ्रान्स सरकार र त्यहाँका नागरिकलाई धन्यवाद दिनुभएको छ । स्वास्थ्यमन्त्री त्रिपाठीले फ्रान्स र युरोपेली युनियनलाई कोरोना विरुद्धको खोपको लागि सहजीकरण गरिदिन पनि आग्रह गर्नुभएको छ ।