समाचार

जनशक्तिको अभावमा प्रयोगविहीन बन्दै भेन्टिलेटर र आईसीयू


काठमाडौँ – नेपालका कयौं स्थानहरुमा अस्पताल उपचार वा बेड अभाव, अक्सिजनको अभाव र सघन उपचार कक्ष (आईसीयू) नपाएर बिरामीहरुको मृत्यु भईरहेको छ । तर म्याग्दीको सदरमुकाम बेनी अस्पतालमा भएको आईसीयू र भेन्टिलेटर पनि पूर्ण रूपमा प्रयोगमा आउन सकेको छैन । यहाँ बिरामी नभएर प्रयोगमा नआएको भने होइन बरु जनशक्ति अभावका कारण प्रयोगमा आउन नसकेको हो ।
गम्भीर बिरामीको उपचार गर्न गत असारमा यहाँ आईसीयूको स्थापना गरिएको थियो । स्थापना भए पनि अहिले जनशक्ति अभावका कारण आईसीय सञ्चालन गर्न समस्या भएको हो । गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयमार्फत अस्पतालमा दुई वटा भेन्टिलेटरसहित पाँच शय्याको आईसीयू कक्ष स्थापना गरिएको थियो ।
दक्ष र आवश्यक जनशक्ति नहुँदा नियमितरूपमा आइसियु सञ्चालनमा ल्याउन नसकिएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर कटुवालले बताए । गण्डकी प्रदेश सरकारमातहत रहेका अस्पतालमा भेन्टिलेटरसहितको आईसीयू कक्ष बनाउने निर्णयबमोजिम म्याग्दीमा गत असारमै दुई भेन्टिलेटर र पाँच शय्याको आईसीयू मेशिन तथा उपकरण र सामग्री खरीद गरी जडानसमेत भएको थियो ।
प्रदेश सरकारमार्फत एक करोड ७८ लाख बजेट विनियोजन भएकोमा बोलपत्रमार्फत एक करोड २५ लाखमा आइसियु र भेन्टिलेटरको उपकरण र सामग्री खरिद गरिएको अध्यक्ष कटुवालले जानकारी दिए । आईसीयू कक्ष नियमितरूपमा सञ्चालन गर्नका लागि कम्तीमा एकरएक जना इन्टरनल मेडिसिन र बेहोस बनाउने डाक्टर (एनएस्थिसियोलोजिस्ट) आवश्यक पर्ने भए पनि सो जनशक्ति नरहेकाले नियमित सञ्चालनमा ल्याउन नसकिएको अध्यक्ष कटुवाल बताउछन् । अस्पतालका प्रमुख चिकित्सक जितेन्द्र कडेलका अनुसार आकस्मिक रूपमा छोटो समयका लागि मात्रै भेन्टिलेटरसहितको आईसीयू कक्षमा बिरामीको उपचार गर्न सम्भव छ । उनले भने “अरु विकल्प नभएको अवस्थामा आईसीयू सञ्चालन भएको छ ।” गत वर्षदेखि मिर्गौला पीडितका लागि डायलासिस सेवासमेत सञ्चालन गरिएको र कोरोनाका बिरामीको आइसोलेसनमा समेत सेवा दिनुपर्ने भएकाले थप जनशक्ति व्यवस्थापन गर्न जरुरी रहेको अस्पतालले जनाएको छ ।
भेन्टिलेटरसहितको आइसियु कक्षलाई नियमित सञ्चालन गर्न प्रदेश सरकार र विभागमा माग भए पनि अहिलेसम्म सुनुवाइ नभएको अध्यक्ष कटुवालले बताए । बेनी अस्पतालमा म्याग्दी जिल्लाका साथै छिमेकी जिल्ला पर्वतको जलजला गाउँपालिकाका र बागलुङको पश्चिम भेगका स्थानीयवासीले समेत सेवा लिँदै आएका छन् । कोरोना सङक्रमितको उपचारलाई प्रभावकारी बनाउन आइसियु र भेन्टिलेटर प्रयोगमा ल्याउनुपर्ने आवश्यकता महसुस भएको स्थानीयवासी खम थापाले बताए ।
अस्पतालमा रहेका आईसीयू र भेन्टिलेटरका उपकरण प्रयोगविहीन बन्ने र अर्कोतर्फ गम्भीर प्रकृतिका कोरोना सङ्क्रमित बिरामीलाई धेरै पैसा खर्चिएर पोखरा, काठमाडौैं पुर्‍याउनुपर्ने बाध्यता सिर्जना हुनु दुःखद् रहेको बेनी नगरपालिका–६ का नारायण शर्माले बताए । बेनी अस्पतालमा एचडियु र अक्सिजनसहितको २५ शय्या क्षमताको आइसोलेशन सञ्चालन गरेर कोरोना सङ्क्रमितको उपचार भइरहेको छ । दोस्रो लहरको सङ्क्रमण फैलिएपछि करिब १०० जटिल अवस्थाका सङ्क्रमितको सफल उपचार भएको छ । सीमित जनशक्ति, पूर्वाधार र उपकरणका बावजुद चिकित्सक र स्वास्थ्यकर्मीहरूले सेवा दिइरहेका छन् । पाँच वर्षअघि ५० शय्या क्षमतामा स्तरोन्नति भएको बेनी अस्पतालमा हाल नौ जना चिकित्सक छन् ।