विदेश

कोभिसिल्डको विकल्पमा अर्को खोप रोज्न नेपाललाई कोभ्याक्सको आग्रह

योहो संवाददाता

काठमाडौँ – कोरोनाभाइरस विरुद्धको खोपको साझा विकास र उचित वितरण अभियान कोभ्याक्सले कोभिसिल्डको विकल्पमा अर्को खोप रोज्न नेपाललाई आग्रह गरेको छ ।

भारतका कोरोना भाइरसको संक्रमण तीब्र रुपमा फैलिएपछि भारतको सेरम इन्स्टिच्यूट अफ इन्डियाले अझै एक वर्ष कोभिसिल्ड खोप दिन नसक्ने भनेको भन्दै कोभ्याक्सले विकल्पमा अर्को खोप रोज्न नेपाललाई आग्रह गरेको स्वास्थ्य सेवा विभाग अन्तर्गत खोप महाशाखाका प्रमुख डा. झलक शर्मा गौतमले जानकारी दिनुभयो ।

डा. गौतमले भन्नुभयो, ‘हामीले भर्खरै कोभ्याक्सको पत्र प्राप्त गरेका छौं छलफलपछि हामी जुन १ सम्म जवाफ पठाउँछौं’ साथै ‘कोभ्याक्सिन, जोनसन एण्ड जोनसन, स्पुतनिक भी, भेरोसेललगायतका खोप हाम्रो भण्डारण सिस्टमलाई उपयुक्त हुने भएकाले यीमध्ये एउटालाई छान्छौं ।’

कोभ्याक्सले सन् २०२१ को मे महिनासम्म नेपालमा १९ लाख २० हजार डोज खोप पठाउने प्रतिवद्धता जनाएको थियो । सोही प्रतिवद्धता अनुसार गत फागुन २३ गते पहिलो चरणमा ३ लाख ४८ हजार डोज कोभिसिल्ड खोप नेपाल पठाएको थियो । तर सेरमले कोभ्याक्स कार्यक्रमलाई पनि कोभिसिल्ड दिन नसक्ने जनाएपछि कोभ्याक्सले नेपाललाई अर्को खोप रोज्न आग्रह गरेको हो ।