कोरोना विशेष

चितवनमा मात्र कोरोनाबाट मृत्यु हुनेको संख्या दुई सय नाघ्यो


काठमाडौँ – नेपालमा दोस्रो भेरियन्टको कोरोना लहर आएसँगै दैनिक सय भन्दा बढी संक्रमितले ज्यान गुमाइरहेका छन् । त्यसको असर चितवन जिल्लामा पनि देखिएको छ । अहिलेसम्म चितवनमा मात्रै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २०० नाघेको छ । मृत्यु हुनेमा सबैभन्दा धेरै भरतपुर महानगरपालिकाकामा रहेका छन् ।

भरतपुर महानगरपालिकामा मात्रै १३१ जनाले ज्यान गुमाइसकेका छन् । त्यस्तै रत्ननगर नगरपालिकाका २४, राप्ती नगरपालिकाका १८, कालिका नगरपालिकाका १३ खैरहनी नगरपालिकाका ११, माडी नगरपालिकाका ७ र इच्छाकामना गाउँपालिकाका २ जनाको कोरोनाका कारण मृत्यु भएको स्वास्थ्य कार्यालय चितवनका तथ्यांक अधिकृत गीताञ्जली ढकालले जनाएका छन् । उनका अनुसार हालसम्म जिल्लामा २०६ जनाको मृत्यु भएको छ ।

जिल्लाका विभिन्न अस्पताल र होमआइसोलेसनमा उनीहरूको मृत्यु भएको हो । जिल्लाका अस्पतालमा बाहिरी जिल्लाबाट उपचार गर्न आउने संक्रमितको संख्यामा पनि ठूलो रहेको छ । उपचारका लागि बाहिरी जिल्लाबाट आएकाहरूमा २६४ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

जिल्ला र बाहिरी जिल्लाका मृतकमध्ये ३२८ जनाको शव नेपाली सेनाले व्यवस्थापन गरेको छ । व्यवस्थापन गरिएका शव परिवारको सल्लाहमा पारिवारिक संस्कारअनुसार जलाउने वा गाड्ने गरिएको छ । मृतकमध्ये १३३ जनाको शव भने परिवारले नै व्यवस्थापन गरेका छन् ।

जिल्लामा हालसम्म १२ हजार ९७५ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ । तीमध्ये ४ हजार ८३४ सक्रिय संक्रमित रहेका छन् । सक्रिय संक्रमितमध्ये ४ हजार ६५८ होमआइसोलेसनमा रहेका छन् भने १६२ अस्पतालमा र १४ जना सामुदायिक आइसोलेसनमा रहेको ढकालले जानकारी दिए । उनका अनुसार ७ हजार ९३५ जनाले कोरोना संक्रमण जितेका छन् ।