कोरोना विशेष

किन जोड गर्दैछ सरकार स्वास्थ्य संकटकाल लगाउन ? संकटकाल लगाएर के गर्न सक्छ सरकारले ?(भिडियोसहित)


काठमाडौँ – कोरोना सम्बन्धी अध्यादेश जारी भएसँगै सरकार स्वास्थ्य संकटकाल लगाउने तयारीमा जुटेको छ । तर कोरोना महामारी नियन्त्रणमा असफल देखिएको सरकारले आपतकाल घोषणा गर्दैमा समस्या समाधान हुने भने देखिंदैन । निषेधाज्ञाको पूर्ण पालना गराएर संक्रमणको चेन ब्रेक गराउन सकेमा तत्काल स्वास्थ्य संकटकाल लगाउन पर्ने अवस्था नरहेको विज्ञहरु बताउँछन् ।

बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीले जारी गरेको ‘कोभिड–१९ संकट व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश’ शुक्रबार राजपत्रमा प्रकाशित भएसँगै कार्यान्वयनमा आएको छ । संगै कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को नेतृत्व परिवर्तन भएको छ भने प्रधानमन्त्रीकै नेतृत्वमा निर्देशक समिति बनेको छ । योसंगै यस अघि कानुन अभावका कारण जारी हुन नसकेको भनिएको स्वास्थ्य आपतकाल घोषणाका बारेमा पनि पुन चर्चा सुरु भएको छ ।

अध्यादेशको दफा ३ मा कोभिड–१९ को सङ्क्रमणको कारण जनस्वास्थ्यमा गम्भीर प्रभाव परेमा वा पर्न सक्ने देखिएमा सोको रोकथाम, नियन्त्रण, निदान र उपचारका लागि नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी नेपालभर वा नेपालको कुनै स्थानमा लागू हुने गरी कोभिड–१९ स्वास्थ्य आपत्काल घोषणा गर्न सक्ने व्यवस्था गरिएपछि आपतकाल घोषणा गर्न कानुनको अभाव हटेको हो ।

परिणामत स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य आपतकालको तयारी थालेको छ भने अन्य मन्त्रालयसंग सहमती माग गरिएको छ । सहमती प्राप्त भएपश्चात आपतकाल घोषणाका लागि सरकारलाई प्रस्ताब गर्ने मन्त्रालयको तयारी छ । स्वास्थ्य आपतकाल घोषणा भए सरकारले स्वास्थ्य संस्था नियन्त्रणमा लिई सञ्चालन गर्ने वा गराउने, जुनसुकै स्वास्थ्य संस्थामा कार्यरत चिकित्सक वा स्वास्थ्यकर्मीलाई कोरोना उपचारमा लगाउन सक्ने व्यवस्था छ ।

त्यस्तै प्रचलित कानुनबमोजिम स्थापित शिक्षण संस्था, प्रतिष्ठान, बोर्ड, संस्थान, सरकारी स्वामित्वका कम्पनी वा अन्य सार्वजनिक संस्था वा निकायमा कार्यरत जनशक्ति, सवारी साधन, भवन , संरचना वा अन्य भौतिक साधन कोरोना उपचार र रोकथाममा प्रयोग गर्न सकिने समेत व्यवस्था छ भने सरकारी निजी वा अन्य संस्थाबाट उत्पादन वितरण वा विक्री गर्ने औषधी, स्वास्थ्य सामग्री तथा उपकरण नियन्त्रणमा लिई प्रयोग र वितरणको व्यवस्था गर्ने वा गराउने उल्लेख छ । तर सवाल यहि उठ्छ आफू मातहतका श्रोत साधन र जनशक्ती समेत व्यवस्थापनमा समेत अलमलिएको सरकारबाट यस्ता कार्य कसरी सम्भव होला ? आपतकाल घोषणा गर्दैमा चमत्कार नै गर्न सक्छ त ? हुन त निति निर्मातामा दुरदर्शिता कम भए वा समयानुकुल निति संसोधन नभए त्यस्को प्रभाव कस्तो पर्छ भन्ने कुरा कोरोनाका बेला स्वास्थ्य नितिले प्रष्ट पार्दिएको छ ।

तर त्यसैलाई आफू पन्छिने बहाना बनाएको सरकारले आतपकाल घोषणा नहुँदाको अवस्था गर्न सकिने काम समेत गरेको छैन । महामारीका बेला देखाउनु पर्ने अभावकिय र नेतृत्व क्षमताको गुणबाट च्युत सरकारले अहिले भने आपतकाल लगाए सबै आफसेआफ ठिक हुने जस्तो गरेर प्रचार गरिहरको छ ।