कोरोना विशेष

६५ बर्षमाथिका नागरिकलाई दोस्रो डोज खोप दिन सरकारले थप्यो समय


काठमाडौँ – थप खोप ल्याउन नसकेका कारण सरकारले ६५ बर्षमाथिका नागरिकलाई कोरोना भाइरसविरुद्धको दोस्रो डोज खोप लगाउने नयाँ समयावधि तोकेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यसअघि भारतमा बनेको कोभिशिल्ड खोप पहिलो डोज लगाएको ८ देखि १२ हप्ताभित्र दोस्रो डोज लगाउनुपर्ने भनेको थियो ।

तर अब दोस्रो डोज खोप १६ हप्तापछि लगाउने गरी अवधि तोकेको मन्त्रालयका प्रमुख विशेषज्ञ डा. रोशन पोखरेलले जानकारी गराउनुभयो । मन्त्रालयले सोमबार गरेको पत्रकार सम्मेलनमा उहाँले भारतले पठाएको नयाँ नियमअनुसार कोभिशिल्ड खोपको दोस्रो डोज १२ देखि १६ हप्तासम्ममा लगाउन सकिने र नेपालले त्यसैअनुसार तयारी गरेको जानकारी दिनुभयो ।

६५ बर्ष माथिकालाई कोभिशिल्ड खोप लगाएको आगामी २३ जेठमा १२ हप्ता पूरा हुँदैछ । तर हाल नेपालमा ज्येष्ठ नागरिकलाई दोस्रो डोज लगाउन पुग्ने गरी खोप पर्याप्त छैन । सेरमले यो वर्ष आफूहरुले खोप निर्यात गर्न नसक्ने बताइसकेको छ ।

सोमबार आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले खोप खरिदका लागि सरकारले अमेरिका, बेलायत र रुसलाई पत्राचार गरे पनि जवाफ नआएको बताउनुभयो ।