कोरोना विशेष

सिंगापुरबाट १३ टन कोभिड–१९ सम्बन्धी सहायता नेपाल आइपुग्यो


काठमाडौँ – सिंगापुरबाट कोभिड–१९ सम्बन्धी १३ टन सहायता सामग्री नेपाल आइपुगेको छ । तामासेक फाउण्डेशन सिंगापुर, लोटस लाइफ फाउण्डेशन सिंगापुर, गोर्खा ब्रुअरी प्रालि, कुटानीतिक नियोग, सरकार र नेपाली प्रवासीको सहकार्यमा नेपाल वायुसेवाको चार्टर उडानबाट सहायता सामग्री ल्याइएको हो ।

करिब २५ करोड नेपाली रुपैयाँ बराबरको कार्गो दाताहरुको तर्फबाट गोर्खा ब्रुअरीका उप–प्रबन्ध निर्देशक सुरेन्द्र सिलवालले स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीलाई हस्तान्तरण गर्नुभयो । मन्त्री त्रिपाठीले सहयोगका लागि आभार व्यक्त गर्नुभएको छ ।

थप मेडिकल आपूर्तिको दोस्रो कार्गो आगामी केही हप्तामा सिंगापुरबाट नेपाल आउने अपेक्षा गरिएको छ । तामासेक फाउण्डेशन इन्टरनेशनलका मुख्य कार्यकारी अधिकारी बेनेडिक्ट चिओङले वक्तव्य जारी गरी महामारीलाई जनताको जीवन जोगाउन सबै मिलेर काम गर्नुपर्नेमा जोड दिनुभएको छ ।

यसमा १ ला २३ हजारभन्दा बढी पिसिआर परीक्षणहरू सिंगापुरको विज्ञान, प्रविधि र अनुसन्धान एजेन्सीद्वारा डिजाइन गरिएको गोर्खा ब्रुअरीले जनाएको छ । त्यस्तै ५ हजार बाकस सिटोटेष्ट श्वाब किट्स (२,५०,००० किट), २ म्याजेक ३२ आरएनए निकासी मेसिनहरु, २५०० निकासी किट र रिजेन्टस्, ३० अल्फा टेली–भेन्टिलेटर, ६ फिलिप्स ट्रिलोजी इभो भेन्टिलेटर, ५० युवेल बी पप, नन्–इन्भेसिभ भेन्टिलेटरहरु र ४ हजार पल्स अक्सपमीटर समावेश छन् ।

तामासेक फाउण्डेशन इन्टरनेशनलका मुख्य कार्यकारी अधिकारी, बेनेडिक्ट चिओङले वक्तव्यमा भनेका छन्, कोभिड–१९ को विभिन्न भेरिएन्टहरूबाट भर्खरै देखिएका अवस्थाबाट यो कुरा प्रष्ट भएको छ कि हामीले जीवन बचाउन र महामारीलाई नियन्त्रणमा ल्याउन निरन्तर सँगै मिलेर काम गरिरहनु आवश्यक छ। तामासेक फाउण्डेशन महामारीको विरूद्ध विश्वव्यापी युद्ध लड्न नेपालका हाम्रा मित्र र छिमेकीहरूसँग एक साथ छ ।

सिंगापुर स्थित तामासेक फाउन्डेशनले २०७७ मा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई फोर्टिट्यूड २.० पिसीआर कोभिड–१९ जाँच्ने टेस्ट किट र अक्सिजन कन्सन्ट्रेटर प्रदान गरेको थियो। यसै गरी २०७२ को भूकम्प पछि मन्त्रालयलाई शिक्षा र तालिम कार्यक्रमहरुमा सहयोग गरेको थियो।

मन्त्री त्रिपाठीले अहिलेको कठीन घडिमा सिंगापुरको तामासेक फाउण्डेशन, लोटस लाइफ फाउण्डेशन तथा गोर्खा ब्रुअरीबाट प्राप्त यो सहयोगको लागि आभार व्यक्त गरेका थिए ।

प्राथमिकताको आधारमा विभिन्न अस्पतालहरुलाई अविलम्ब यी सामग्रीहरु वितरण गरी कोभिड–१९ को उपचारमा तीव्रता ल्याउने उनले बताए । कोभिड–१९ को माहामारी अझै बढ्दै गएको यस स्थितिमा गोर्खा ब्रुअरीबाट आउँदो दिनहरुमा पनि यस्तै सहयोगको आशा आफूहरुले गरेको पनि उनले बताए ।

उक्त सामानहरु हस्तान्तरण गर्ने क्रममा गोर्खा ब्रुअरीका उप–प्रबन्ध निर्देशक सुरेन्द्र सिलवालले यस्तो महामारीको अवस्थामा कोभिड–१९ नियन्त्रण तथा उपचारको लागि तत्काल प्रयोगमा आउने सामग्रीहरु नेपाल सरकारलाई सहयोग गर्न पाउँदा सन्तोष व्यक्त गरे ।

नेपाल सरकारबाट उक्त सामग्रीहरु प्राथमिकताको आधारमा विभिन्न अस्पतालहरुलाई अविलम्ब वितरण गरी कोभिड उपचारमा सकारात्मक योगदान गर्ने विश्वास पनि उनले राखेको बताए । थप मेडिकल आपूर्तिको दोस्रो कार्गो आगामी केही हप्तामा सिंगापुरबाट नेपाल आउने अपेक्षा गरिएको छ ।

गोर्खा ब्रुअरीबाट यसअघि २०७२ को भूकम्पमा पनि सरकारलाई १० करोड नेपाली रुपैयाँ सहयोग स्वरुप प्रदान गरेको थियो ।