स्वास्थ्य

स्वस्थ रहन यी उपाय अपनाउनुस्


काठमाडौँ – स्वस्थ भएर जीवनयापन गर्ने चाहना सबैमा हुन्छ तर, पनि विभिन्न कारणहरुले सबैले स्वस्थ भएर हाँसीखुसी जिउन सक्दैनन् । त्यसमध्ये सबैभन्दा महत्वपूर्ण कुरा स्वस्थ आहार हो । आजको व्यस्त र तनावपूर्ण जीवनशैलीमा आफ्नो शरीरलाई निरोगी र स्वस्थ बनाउनको लागि खानामा के खाने, कतिखेर खाने र कति खाने भन्नेकुरा हामीले थाहा पाउनै पर्छ ।

चिनीको कम सेवन
चिनीजन्य पदार्थको सेवनले शरीरलाई छिटो मोटो बनाउँछ । यसले मधुमेह, मुटुरोगलगायतका अन्य स्वास्थ्य समस्या पनि निम्त्याउँछ । त्यसैले तयारी अवस्थामा रहेका फलफूलका जुस पनि सकेसम्म नखाए नै बेस हुन्छ ।

बदाम खाने
बदाममा धेरै चिल्लो पदार्थ भए पनि यो स्वास्थ्यका लागि निकै पोषिलो र स्वास्थ्यवद्र्धक खाना हो । यसमा म्याग्नेसियम, भिटामिन ए र रेसाजन्य पदार्थ हुने भएकाले बदामको नियमित सेवनले स्वास्थ्यमा फाइदा पुर्‍याउँछ । अध्ययनका अनुसार यसले तौल घटाउन र मधुमेह तथा मुटु रोगबाट जोगिन पनि मद्दत गर्छ ।

जंक फुडबाट टाढै बस्ने
विश्वमै मोटोपना र बिरामी हुनुको मुख्य कारणको रूपमा जंकफुड रहेको छ । यस्ता खानेकुराले हाम्रो दिमागमा नै यस्तो असर पुर्‍याउँछ कि जसका कारणले सधैं अझै बढी खाने इच्छा जागिरहन्छ। कहिलेकाहीँ त ती खानेकुराका अम्मलीसमेत हुने डर हुन्छ ।

कफी खानु राम्रो
कफी स्वास्थ्यका लागि निकै राम्रो पेयपदार्थ हो । यसमा धेरै मात्रामा एन्टिअक्सिडेन्ट हुने हुनाले यसले आयुलाई लामो बनाउनुको साथै मधुमेह, पार्किन्सन, अल्जाइमरलगायतका रोगबाट पनि बच्न सहयोग गर्छ ।

माछा खाने
साल्मोन जातका माछामा ओमेगा ३ फ्याटी एसिडको मात्रा धेरै हुने हुनाले यो पनि हाम्रो स्वास्थ्यका लागि राम्रो हुन्छ।

खानाअगाडि पानी
पर्याप्त मात्रामा पानी पिउँदा स्वास्थ्यलाई राम्रो बनाउन सकिन्छ । खाना खानुभन्दा आधा घन्टाअगाडि आधा लिटर पानी पिएमा यसले ४४ प्रतिशत तौल घटाउन सहयोग गर्ने अध्ययनले देखाएको छ ।

मासु धेरै नपकाउने
मासुमा धेरै मात्रामा प्रोटिन हुन्छ । तर त्यही मासुलाई आवश्यकभन्दा बढी मात्रामा पकायो वा धेरै भुट्यो वा डढायो भने यसमा हानिकारक तत्व उत्पन्न भई त्यसले क्यान्सरको जोखिम पनि निम्त्याउन सक्छ ।

फलफूल र सागपात खाने
हरियो सागपात र फलफूलमा धेरै मात्रामा रेसा, भिटामिन, मिनरल्स, एन्टिअक्सिडेन्टलगायतका तत्व हुने हुनाले यी कुराको नियमित सेवन गरेमा स्वस्थ रहन सकिन्छ ।