कोरोना विशेष

अझै केही साता चुनौतिपूर्ण छ : स्वास्थ्य मन्त्रालय


काठमाडौँ – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अझै केही साता चुनौतिपूर्ण रहेकाले सबैजनालाई संयमित हुन आग्रह गरेको छ । सोमबार विज्ञप्तिमार्फत मन्त्रालयले संक्रमण बढी भएका २० भन्दा बढी जिल्लामा संक्रमितहरू खुलेआम रुपमा हिँडिरहेकाले अझै केही साता चुनौतिपूर्ण रहेको जनाएको हो ।
स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौं, रुपन्देही, ललितपुर, भक्तपुर, मोरङ, कैलाली, कास्की, बाँके, दाङ, चितवन, सुर्खेत, झापा, कञ्चनपुर, मकवानपुर, धनुषा, काभ्रेपलाञ्चोक, सुनसरी, पर्सा, बर्दिया, पाल्पालगायतका जिल्लाहरूमा संक्रमणदर बढी भएपनि संक्रमितहरू सार्वजनिक स्थानमा खुलेआम हिँडिरहेका छन् ।

यसरी खुलेआम रुपमा संक्रमितहरू हिँड्दा संक्रमण नियन्त्रण गर्न चुनौती थपिएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका सहप्रवक्ता समीरकुमार अधिकारीद्वारा जारी सूचनामा अझैपनि लुकिछिपि वा खुल्लमखुल्ला निषेधाज्ञा उल्लंघन भइरहेको जनाइएको छ । मन्त्रालयले सबैलाई निषेधाज्ञा र स्वास्थ्य मापदण्ड पालना गर्न आग्रह गरेको छ ।