राजनीति

विभाजनको अन्तिम विन्दुमा जसपा


काठमाडौँ – सत्ता फेरबदलले आन्तरिक किचलोमा फसेको जनता समाजवादी पार्टी (जसपा) विभाजनको अन्तिम कसरतमा छ । पार्टीभित्रका दुईधार दुईतिर सोझिएपछि जसपामा विभाजन अनिवार्य बनेको हो ।

सत्तापक्ष र विपक्षको तानातानमा परेको ३२ सिटे जसपा विगत केहि महिनायता राष्ट्रिय राजनीतिमा चर्चामा छ । अरुबेला दलहरुले खासै नपत्याउने जसपा सत्ता फेरदबलमा निर्णायक शक्तिका रुपमा उदाएपछिसबैको ध्यान यतातिर सोझिएको हो । तर सरकार गठनदेखि प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिने निर्णयसम्म आईपुग्दा अनिर्णित बनेको जसपा अहिले यहीँकारण विभाजनको अन्तिम कसरत गरिरहेको छ ।

दुबै पक्ष आ–आफ्नै निर्णयका साथ अघि बढेका छन् ।शुक्रबार महन्थ ठाकुर र राजेन्द्र महतो पक्षले उपेन्द्र यादव र बाबुराम भट्टराई पक्षको उपस्थित विनै बहुमत सांसदको हस्ताक्षरसहित वरिष्ठ नेता राजेन्द्र महतोलाईसंसदीय दलको नेता बनाएको छ । जसमा अर्काे पक्षको चरम असन्तुष्टि छ ।

शनिबार अध्यक्ष उपेन्द्र यादवले पार्टी कार्यालयमा केन्द्रीय कार्यकारिणीको समितिको बैठक बोलाएका थिए । जसलाई अर्का अध्यक्ष महन्थ ठाकुरले जसपाको कुनै बैठक नडाकिएको भन्दै आधिकारिकतामाथि नै प्रश्न उठाएर विज्ञप्ती सार्वजनिक गरे ।

एकअर्कालाई लिएर हार्दिकतासमेत गुमाएका जसपाका दुबै पक्ष अहिले अनुहारसमेत हेर्न नसक्ने अवस्थामा छन् । पूर्व समाजवादी पार्टी र राजपाबीच एकता भएर बनेको जसपामा संसदीय दल समायोजन भएको छैन । दलको विधान अहिलेसम्म बनेको छैन  । संयुक्त दलको बैठक एकपटक बढी बसेको छैन ।

केन्द्रीय कार्यकारिणी समितिको बहुमत देखाएर यादव पक्षले आफूअनुकूल निर्णय गराउन सक्ने देखेपछि ठाकुर पक्षले समेत बहुमत सांसदको हस्ताक्षरबाट अघि बढ्ने प्रतिस्पर्धा चलाएको छ । जसले जसपालाई अब कुनै पनि हालतमा सिङगो राख्ने देखिदैन ।

जसपामा विभाजन आउनुकोमुख्य कारण केहीसमय यता देखिएको राजनीतिक समीकरण हो ।सत्ता समीकरणलाई लिएर एकमत नभएको जसपामा अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो पक्ष प्रधानमन्त्री ओलीको चालबाजीमा सहभागि छ भने अर्का अध्यक्ष उपेन्द्र यादव र बाबुराम भट्टराई पक्ष कांग्रेस, माओवादीको विपक्षी गठबन्धनमा सामेल छ ।

बैशाख २७ मा प्रधानमन्त्रीले विश्वासको प्रस्ताव राख्दा जसपाले पार्टी एकता जोगाउन भन्दै ह्वीप नलगाएपछि ठाकुर पक्षका १५ सांसद तटस्थ बसेर ओलीलाई प्रधानमन्त्री हुने बाटो खोलेका थिए । अहिले पुनः प्रधानमन्त्री ओलीले विश्वासको मत लिने दिन नजिकिएको छ ।

ठाकुर पक्ष मत दिएर ओली बचाउने तयारीमा छ भने यादव पक्ष हराएरै जाने अडानमा छ । तथापी यसैले जसपाको औपचारिक विभाजन गराउने आँकलन गर्दा अन्याय हुदैन ।