राजनीति

प्रधानमन्त्री ओलीलाई पुनः शपथग्रहण गराउन जसपाको माग


काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले शपथग्रहण गर्ने क्रममा राष्ट्रपति र प्रधानमन्त्री पदको मर्यादा र गरिमामा गम्भीर आँच पुर्‍याएको भन्दै जनता समाजवादी पार्टीले पुनः शपथग्रहण गराउन माग गरेको छ ।

जसपाका अध्यक्ष उपेन्द्र यादवले आइतबार विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीलाई पुनः शपथग्रहण गराउन माग गरेका हुन् । प्रधानमन्त्री पदको शपथग्रहण गर्ने क्रममा प्रधानमन्त्री ओलीले ‘त्यो पर्दैनु भन्दै राष्ट्रपति विद्यादेवी भण्डारीले भनेको शब्द दोहोर्‍याउन अस्वीकार गरेका थिए ।

यस विषयमा यादवले विज्ञप्तिमा लेखेका छन्, ‘२०७८ वैशाख ३१ गते सम्माननीय प्रधानमन्त्रीको सपथग्रहणमा सम्माननीय राष्ट्रपतिद्वारा वाचन भएको सत्य निष्ठापूर्वक प्रतिज्ञा गर्दछु भन्ने वाक्यांशमा प्रतिज्ञा गर्दछु नभनी सत्य निष्ठापूर्वक’ त्यो पर्दैनु भनेर ग्रहण गरेकाले यसले देशको राष्ट्रपति र प्रधानमन्त्री पदको मर्यादा र गरिमामा गम्भीर आँच पुगेको हुँदा उक्त शपथग्रहण बदर गरी पुनः शपथग्रहण गर्न गराउन हाम्रो पार्टी माग गर्दछ ।