राजनीति

राप्रपाको महाधिवेशन अनिश्तिकालका लागि स्थगित


काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय महाधिवेशन अनिश्चितकालका लागि स्थगित भएको छ । शनिबार बसेको राप्रपाका तीन अध्यक्षसहितको बैठकले कोभिड–१९ महामारीका कारण महाधिवेशन स्थगित गर्ने निर्णय गरेको हो ।

महाधिवेशनको नयाँ मिति उपयुक्त समयमा घोषणा गरिने सो पार्टीले शनिबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । यसअघि राप्रपाले जेठ २२–२५ सम्म काठमाडौँमा महाधिवेशन गर्ने तय गरेको थियो ।
राप्रपाको उक्त बैठकले स्वास्थ्य सामग्री तत्काल जुटाउन सरकारसँग माग गरेको छ । पार्टीले कोभिड–१९ सँग जुधिरहेका आम जनताको सेवामा सुरक्षित रहि परिचालित हुन पार्टीका सबै तहका नेता, कार्यकर्तालाई आग्रह गरेको छ । बैठकले पार्टीको निर्देशन समिति ५ दिनभित्र गठन गर्ने निर्णय गरेको छ ।